काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन गरेको प्रयासले अर्थतन्त्रका सूचकहरू ओरालो लाग्ने क्रम रोकिएको बताएका छन् ।
सोमबार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचक चलायमान बन्ने क्रम बढेको बताएका हुन् ।
अर्थमन्त्री पौडेलले वर्तमान सरकारले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधानको लागि निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक दिशामा फर्किएको बताए । उनले भने, ‘अर्थतन्त्रका सकारात्मक सूचकहरूलाई नकारात्मक बन्न नदिई लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सक्छौँ । मूल्यवृद्धिलाई सिमाभित्र राख्न सफल भएका छौँ।’
सरकारले अर्थतन्त्रका समस्यालाई सूक्ष्म ढंगले विश्लेषण गरी समाधानका लागि एक-एक कदमहरू चाल्दै गएको समेत अर्थमन्त्री पौडेलको भनाई छ । उनले अर्थतन्त्रमा देखिएका पछिल्ला सकारात्मक सूचकहरू सरकारको कामको परिमाण भएको समेत दाबी गरे ।
‘बैंकको ब्याजदर एकल अंकमा आउन सम्भव थिएन,’ उनले थपे, ‘ब्याजदर एकल अंकमा ल्याउनका लागि सरकारले केही काम गरेको छ ।’
१७ प्रतिशतले राजश्व बढ्यो
गत वर्ष आर्थिक वर्षको चार महिनामा ३ प्रतिशत वृद्धि भएको राजश्व संकलन दर चालु आर्थिक वर्षको सोही अवधिमा १७ प्रतिशत पुगेको छ । अर्थतन्त्र सुधार गर्ने पृष्ठभूमिमा धेरै काम भएपछि पुँजीगत खर्चको दायरा समेत बढेको छ । यी सबै वर्तमान सरकारको कामको प्रतिफल भएको उनको भनाई छ ।
उनले सरकारले मुलुकभित्र लगानीको वातावरण बनाउने र बैंकको निक्षेपलाई लगानीमा रूपान्तरण गर्ने, अन्तर्राष्ट्रिय लगानी भित्र्याउने, रोजगारी सिर्जना गर्ने र व्यवसायीहरूको मनोबल उच्चरुपमा बढाउने विषयमा बढी केन्द्रित भएर काम गरिरहेको बताए ।
अर्थमन्त्री पौडेलले समग्र अर्थतन्त्रलाई गतिशील बनाउने, उत्पादन,उत्पादकत्व वृद्धि गर्ने र रोजगारी अभिवृद्धि गर्ने उद्देश्यमा अर्थतन्त्रका सकारात्मक सूचकहरूलाई सदुपयोग गरेर जानु पर्नेमा जोड दिए ।