काठमाडौँ । २०७६ सालको चैतदेखि सहरी विकास मन्त्रालय अन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको स्टोर सम्हालेका नायब सुब्बा पशुपति पोखरेलको अनौठो हर्कत सिंहदरवारमा ‘…देख्नेलाई लाज’ जस्तै बनेको छ ।
सरुवाको निर्णय हुँदा यौटा, पत्र बुझ्दा अर्कै कार्यालयतिर रमाना हुनुपर्ने कतिपय कर्मचारीको नियतिबीच नायब सुब्बा पोखरेल भने पाँचौँ वर्षपछि पनि त्यही कार्यालयमा काम गर्न पाउनुपर्ने अड्डी कसेर धर्ना दिई रहेका छन्, त्यो पनि देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारस्थित शहरी विकास मन्त्रालयको ढोकामा । सामान्यतया: दुई वर्षमा सरुवा गर्न सक्ने प्रावधान उनका लागि अनदेखा त भई दियो नै, शक्तिकेन्द्रको ‘कृपा’मा जे गरे पनि हुन्छ भन्नेसमेत प्रमाणित गर्न खोजेको देखिन्छ पोखरेलले ।
गत कात्तिकमा सहरी विकास मन्त्रालयले उनलाई मन्त्रालय अन्तर्गत अन्यत्र सरुवा गरी उनको ठाउँमा नायब सुब्बा सुनिल रोकायालाई पठाएको थियो । नायब सुब्बा पोखरेल भने अटेर गरी बसे । उनले उल्टै अवधि नै नपुगेका नासु सुनिल रोकायालाई गृह मन्त्रालयमा सरुवा गराउन सफल भएको अधिकारीहरू सुनाउँछन् ।

अवधि नपुगी सरुवा गरिएको भन्दै विवाद उत्पन्न भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नायब सुब्बा सुनिल रोकायाको सरुवा बदर गरी सहरी विकास मन्त्रालयमै कायम गर्यो । तर पोखरेलले डेगै चलाएनन्, बरु मन्त्रालयकै ढोकामा उभिएर धर्ना दिन तयार भए, जाने कुनै छाँटै देखाएनन् ।
रमाना बुझ्न अटेर
मन्त्रालयले गत असोज १५ गते सुब्बा पशुपति पोखरेललाई संघीय सचिवालय तथा निर्माण व्यवस्थापन कार्यालयबाट सहरी विकास तथा भवन निर्माण विभागमा सरुवा गरेको थियो । दुई महिना नाघिसक्दा पनि उनी रमाना नलिई अटेर गर्दै आएका छन् । उनले सहरी विकास मन्त्रालयदेखि सामान्य प्रशासन मन्त्रालयमा प्रभाव पारी सरुवा बदर गराएर संघीय सचिवालयमै थमौती हुने खेलमा लागेको अधिकारीहरू बताउँछन् ।
पटक-पटक रमाना बुझ्न निर्देशन दिँदा पनि नासु पोखरेलले नबुझेपछि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय प्रमुख चक्रवर्ती कर्णले नै हस्ताक्षर गरी उनको इमेलमा पठाइदिए । १८ मंसिर, ०८१ मा कार्यालय प्रमुख कर्णले हस्ताक्षर गरेर इमेलमा पठाएको कर्णले प्रशासनलाई बताए । जबकि रमाना पत्रमा कार्यालयका शाखा अधिकृतले हस्ताक्षर हुने गर्दछ । “उहाँको सरुवा भएको थियो । नयाँ मान्छे आएका थिए ।” कर्णले भने, “कार्यालयबाट रमाना पत्र तयार गरी पोखरेलको इमेलमा पठाइदिएका छौँ, प्राविधिक रूपमा बरबुझारथ प्रक्रिया भने बाकी छ ।” पोखरेलको ठाउँमा नयाँ कर्मचारी आएर भएर काम गरिरहेको कर्णले बताए । यस्तै पोखरेलले मन्त्रालयको गेटमा धर्ना बसेको बेला कार्यालयमा नकारात्मक वातावरण सिर्जना गरेको उनले भने ।

व्यवस्थापन कार्यालयमा बस्न उनले सबै विधि अपनाए । सहरी विकास मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा, मन्त्री प्रकाशमान सिंहको सचिवालयमा कार्यरत कर्मचारीहरूलाई खुलेआम आर्थिक, सामाजिक सहयोग गर्ने आश्वासन समेत दिएको मन्त्रालयकै एक सहसचिवले बताए । “पाँच पाँच वर्षसम्म एउटै कार्यालयमा राख्नु आफैमा गलत थियो, तर त्यसपछि पनि त्यहीँ बस्न पाउँ भन्नुलाई कहाँसम्म जायज हो’ ती सहसचिवले भने ।”
केही समय अघि उनी मन्त्रालयको गेट अगाडि दिनहुँ जसो ४-५ घण्टा उभिन थाले । उनले उठाएको मागले उनलाई नै हानी गर्यो । निलम्बन नै हुने भएपछि उनी धर्ना छाड्न बाध्य भए । व्यवस्थापन कार्यालयका एक कर्मचारी भन्छन्, ‘अनियमिता गर्ने, हिसाब बुझाउन नसक्ने, हिसाब बुझाऊ भन्दा मन्त्रालयमा धर्ना दिन जाने हो भने यो देशमा अख्तियार किन चाहियो ? नियम कानुन पनि किन चाहियो ? जसले जे गरे पनि भयो ।’ उनको यो हर्कतले गर्दा उनका सहपाठी नै हैरान छन् । करिव ५ वर्षसम्म व्यवस्थापन कार्यालयमा बस्दा पोखरेलले कहिले पनि कार्यालय समयमा कार्यालयमा नपुगेको त्यहाँका कर्मचारीको गुनासो छ ।
तर यता पोखरेल भने भवन विभागमा सरुवा भएको तर हाजिर हुन नगएको बताउँछन् । आफ्नो ठाउँमा अर्को व्यक्ति आएपछि उनले धर्ना दिएका थिए । उक्त धर्नाको बारेमा भने । उनले ‘सरुवा अवधि नपुगेर पैसा खाएर सरुवा गर्न नमिल्ने’ भएकाले आफूले धर्ना दिएको बताए । उनले आफू बसेको ठाउँमा मन्त्रालयका केही व्यक्तिले मिलाइदिन्छु भनेर भने पनि आफू नजाने अडान लिएको समेत बताए ।
धर्ना दिएको बेला मन्त्रालयकै व्यक्तिले तपाईँले भनेकै ठाउँमा सरुवा मिलाइदिन्छौँ भनेर विभिन्न आश्वासन दिएको उनको भनाई छ । “आफ्नो सरुवाको बारेमा मिलाउनु पर्दैन तर अवधि नपुगेकालाई पैसा खाएर सरुवा नगर भनेर धर्ना दिएको हुँ” उनले भने ।
२ वर्ष एक कार्यालयमा बसे पछि अन्यत्र सरुवा हुने कानुनी व्यवस्था छ । तर उनी करिब ५ वर्ष एउटै कार्यालयमा बसे । उक्त कुरालाई उनी सामान्य रूपमा लिन्छन् । भन्छन् “मन्त्रालयकै दले–झोलेहरू ८-९ वर्ष एउटै कार्यालयमा बसेर रजाइँ गरिरहेकै छन् । सामान्यमा त झन् १०-१२ वर्ष एउटै निकायमा बसिरहेको लिस्ट समेत छ ।” अहिले आफू सिंहदरवारमै रहेको तर कार्यालयमा भने नगएको उनी बताउँछन् ।