२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यात्रा संस्मरण : एक प्रशासकीय अधिकृतको हिमालसम्मको यात्रा

अ+ अ-

२०७९ सालको पुस महिनादेखि २०८१ सालको वैशाख महिनासम्म सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको  निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेपछि सोलुखुम्बु जिल्लाकै महाकुलुङ गाउँपालिकामा २०८१ सालको असोज महिनाबाट निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त भयो । महाकुलुङ गाउँपालिका सोलुखुम्बु जिल्लाको आठ वटा स्थानीय तहमध्ये पर्यटकीय आकर्षण र आवागमनको आधारमा सगरमाथाको गाउँपालिका खुम्बु पासाङल्हामू गाउँपालिकापछि दोस्रो महत्त्वपूर्ण गाउँपालिका हो ।

दशैँ वा तिहारको बिदामा कतै न कतै घुम्न जाने चलन नेपाली समाजमा विकास हुँदै गएको छ । यस मामलामा म पनि अछुतो रहिनँ । घुम्न जाने विकल्पहरू सोच्दा सोच्दै सम्झिन पुगियो-मेरा पिक महाकुलुङ गाउँपालिकामा एउटा यस्तो पिक (हिमाली चुचुरो) छ, जुन पिक पर्यटकीय आवागमनको आधारमा नेपालको व्यस्त मध्येको पिक, उचाइको हिसाबमा आरोहण खुला गरिएका पिकमा अग्लो मध्येको पिक (७ हजारभन्दा कम उचाइ हुने हिमाल), त्यस्तै सर्वोच्च शिखर सगरमाथा आरोहण अगाडी प्रायजसो प्रत्येकले चढ्ने पिक, अनि महाकुलुङ गाउँपालिकाले आफ्नो शान मानेको पिक । यस्तै विविध महत्त्वपूर्ण विशेषणले सम्बोधित पिक हो – मेरापिक जसको उचाइ नेपाल पर्वतारोहण संघ तथा सरकारी तथ्याङ्कमा  ६४७० मिटर उल्लेख गरिएको छ भने स्थानीयले यस पिकको उचाइ ६४७६ मिटर मान्ने गर्छन् ।

मेरा पिक क्षेत्र घुम्न जाने साथी भाइहरूको प्रस्तावलाई स्विकारेर महाकुलुङ गाउँपालिकाको बुङबाट १६ गतेको दिन अर्थात् औँसीको दिन महाकुलुङ गाउँपालिकाभित्र नै पर्ने सोलुखुम्बुको अर्को पर्यटकीय गन्तव्य पाँच पोखरी तिर लागियो । त्यो दिन चलेम पुगेर बसियो भने अर्को दिनको हिँडाई अलि शंका र अलमलमा सुरु गरियो । बिहानैको बिग्रेको मौसम अनि लेकको बाटो । अघिल्लो दिन समुद्र सतहदेखि १७ सयको हाराहारीबाट ३६ सय को उचाइमा पुगिएको थियो । आज ३६ सय मिटर उचाइबाट सुरु गर्दा यतिको उचाइको विविधता पचाउनु कम्तीको चुनौती थिएन । करिब दुई घण्टा भदा बढी ठाडो उकालो हिँडेपछि हुर्हुरे डाँडा पुगियो । हुर्हुरे डाँडा ४२८० को उचाइमा छ भने जहाँबाट आकर्षक दृश्यावलोकनका साथमा कञ्चनजंघा हिमाल सहितको पाथीभरा हिमालहरू समेत देख्न सकिन्छ ।

त्यसपछि करिव दुई घण्टाको हिँडाई र ४४८० मिटरको पासपछि नेपालकै १०० वटा नयाँ पर्यटकीय गन्तव्यको रूपमा पहिचान भएको तथा महाकुलुङ गाउँपालिकाको पर्यटकीय र धार्मिक दृष्टिले अति नै महत्त्वपूर्ण क्षेत्र पाँच पोखरी पुगियो । पाँच पोखरी सोलुखुम्बु जिल्लाकै आकर्षक पर्यटकीय र धार्मिक दृष्टिले महत्त्वपूर्ण स्थान हो । यहाँ वर्षको दुई पटक ऋषि तर्पणी र वैशाखे पूर्णिमामा मेला लाग्ने गर्दछ । पाँच पोखरीको सुन्दरताको स्वाद लिएपछि हाम्रो दोस्रो दिनको गन्तव्य कोठेतिर लागियो । कोठेतिर लाग्दा बिचमा मझाङ पिक पनि पर्दछ । त्यो दिनको बाटोबाट देखिएका दृश्य वास्तवमै सम्झन लायक छ ।

हिमाली र पहाडी मिश्रित दृश्यावलोकन गर्दै समुद्र सतहदेखि ३६०० मिटरको उचाइमा इङ्‌खु खोलाको किनारमा रहेको कोठे बजारमा बास बसियो । कोठे बजार खुम्बु पासाङल्हामु, माप्य दुधकोशी र महाकुलुङबाट मेरा क्षेत्र जाने बाटोसँग मिसिने चौबाटोको चोक हो । आजको यात्रा हामीले ३६ सयको उचाइबाट सुरु गरी करिव ४५ सय पुगेर फेरी ३६ सयकै उचाइमा पुगेर टुङ्ग्यायौँ । कोठे बजारमा राती देउसेको रौनक थियो । त्यहाँका स्थानीयहरूको रमाइलो र विशेष गरी मादले (बुङ गाउँ स्थायी निवासी त्यहाँका साहुजी) दाजुको देउसे भट्ट्याउने र गीत गाउने र मादल बजाउने कला, आहा! नै थियो । देउसेको त्यो रमाइलो हामीले भरपुर उपयोग गर्‍यौँ ।

कोठे बजारमा होटेल मालिक मिङ्‍मा शेर्पाको आतिथ्यता प्रशंसनीय लाग्यो । कोठेमा नै मकालु बरुण राष्ट्रिय निकुञ्जको चेक पोष्ट रहेछ । विदेशी र नेपाली सबैले त्यहाँ निकुञ्ज प्रवेश शुल्क तिर्नुपर्ने हुन्छ । कोठेबाट चार पाटे तथा मेरापिक क्षेत्र सहितको रमणीय दृश्यावलोकन गर्दै अगाडी बढियो । आजबाट चाहिँ मेरा पिकको चुचुरो नै पुगिन्छ कि भन्ने साहस मनमा पलाउन थालेको थियो ।

इङ्‍खु खोलाको किनारै किनार करिव चार घण्टाको हिडाईपछि नौलेख (थाङ्‍नाक) भन्ने ठाउँमा पुगियो । लेकको बाटोमा दिनको तीन/चार घण्टाभन्दा बढीको हिँडाई स्वस्थजनक हुँदैन । हामी पनि सोही रफ्तारमा थियौँ । थाङ्नाक चार पाटे हिमाल (क्यासर पिक) ६७६९ मिटरको फेदमा पर्दछ, यो हिन्दु धर्मावलम्वीहरुले पवित्र हिमाल (शिव पार्वती कैलाश पर्वत जाँदा बास बसेको) मानिन्छ । थाङ्‍नाकमा हाम्रो अचम्मको संयोग थियो । त्यहाँ रजनी, रमिता र सविता बहिनीहरूले भाइटिकाको तयारी गरेको थिए । थाङ्नाक पुगेको भोलिपल्ट २०८१ सालको कार्तिक १८ गते ठ्याक्कै हामीले ठाङ्नाक (समुद्र सतहदेखि करिव ४३ सय मिटरको उचाइमा) भाइटिका लगायौँ । यति उचाइमा भाइटिका लगाउनु हाम्रो लागि रमाइलो मिश्रित उत्साह नै थियो ।

थाङ्नाकबाट अर्को दिन ४९०० मिटरमा रहेको मेरा पिकको बेस क्याम्प मानिने खरे/खारेमा गएर बसियो । होटेल मालिक पेमा डेण्दी शेर्पाको न्यानो आतिथ्यताका साथ लेकको लागि आवश्यक पर्ने खानपिनले हामीलाई उचाइमा आफूलाई सहज बनाउन सहयोग गर्‍यो । त्यहाँ मेरापिक चढ्न आएका विदेशी पर्यटकको एक प्रकारको घुइँचो नै थियो । खरेको बसाइँ पुगेको दिन सहित दुई दिनको बसाइँ खरेमा हुनेवाला थियो । मौसम पनि खरे पुगेको दिनसम्म खुलेको थिएन । तर मौसम भोलीबाट खुल्ने मौसम पूर्वानुमान रहेकोले हामी निराश भने थिएनौ । खरे बसाइँको दोस्रो दिन हामी करिव ५२०० मिटरको उचाइसम्म पुग्यो, हिउँमा रमाइलो गर्‍यौँ । आजबाट हामीसँगै गएका अनन्त भाइ सहित तीन जनाको समूह घर फर्किने तयारीमा थिए भने रजनी बहिनी हाम्रो यात्राको नयाँ सहयात्री हुन आउने वाला थिइन् ।

हाम्रो मुख्य यात्रा कार्तिक २० गतेको थियो, त्यसैले अघिल्लो दिन नै सबै तयारी गरिएको थियो । सिलिपिङ ब्याग, सुपर डाउन ज्याकेट र सुरुवाल, कान पुरै छोप्ने काने टोपी, कालो चस्मा, पानी तातो रहने थर्मस, स्टिक, माउन्टेनियरिङ बुट, बुटमा लगाउने क्र्याम्पन्स, हार्नेस, क्याराबिनर्स, टर्च लाइट, झोला, क्यामेरा, चकलेट आदिको जोहो भैसकेको नै थियो । आजको यात्रा बुटमा क्र्याम्पुन सेट गरेर हिउँको बाटो हिँड्नुपर्ने थियो । मेरा पिकको चुचुरोसम्मको यात्राको सम्झनामा पाइलाहरू उकालोमा पनि सहजसाथ चल्दै थिए ।

मेरा-ला ५४०० मिटरको उचाइको पासपछि खोङ्‍मादिङ भ्यालीतिर जाने विकल्प पनि रहेछ जो बाटो खुम्बु जाने आम्पूलाप्चा पास, मकालु जाने शेर्पेनी कोल पास र महाकुलुङ झर्ने हुँगा खोला तिरै तिर जाने तीन विकल्पमा पुग्छन् भने बरुन्त्से बेस क्याम्प जाने बाटो पनि मेरा-ला पासकै बाटो हो । हामी भने मेरा-ला हुँदै ५८२० मिटर उचाइमा रहेको मेरा हाइ क्याम्पमा बस्न जाँदै थियौँ । मेरा-ला फेदको क्र्याम्पुन प्वाइन्टदेखि हाई क्याम्पसम्मको हिउँमाथिको बाटो यति साहसिक र उत्साहजनक थियो कि जसको शाब्दिक वर्णन असम्भव छ, केवल अनुभवमा मात्र सम्भव छ ।

हाई क्याम्पबाट तलतिर हेर्दा पुरै पोखरी नै पोखरी, चारैतिर हेर्दा हिमाल र हिउँ मात्र अहा! यतिको स्वर्गीय आनन्द केवल हिमालमा मात्र सम्भव छ । पूर्वमा कञ्चनजङ्गासम्म देखिने हिमाली सौन्दर्य साँचै हेर्न लायक छ ।

मेरापिक जानेलाई सबैभन्दा गाह्रो हुने दिनको रूपमा हाई क्याम्पको बसाइँलाई मानिन्छ । ५८०० मिटरको उचाइमा अक्सिजनको कमी, पानी नहुँदा हिउँ तताएर पकाको खानेकुरा हरू, टेन्टभित्र पनि घोच्ने चिसो, अल्टिच्युड सिकनेस, टाउकोको दुखाई, अनेक अनेक समस्या अनि केवल तातोपानी,  र पारासिटामोलको साथ । हुन त मलाई लेकले खासै दुख दिएन र टाउको दुख्ने समस्याले पनि सताएन तर केही साथीहरूको पिडा नै मलाई काफी थियो । मेरो लागि यो लेकको यात्रा पहिलो थिएन र लेकको बाटोसँग परिचित हुनाले मलाई सहज नै थियो । त्यसमाथि हिमालको चुचुरोले बोलाइराखेजस्तो हुने अनुभव ।

बेलुका ६ बजेतिर खानपिन सबै सकेर टेन्टभित्र सिलिपिङ ब्याग ओढेर सुत्ने असफल प्रयास गरिराखियो । खासै निन्द्रा नलागी नै बिहानको २ बज्यो, यो ठ्याक्कै बिहानको खाजा खाने समय हो । लेकमा सबैभन्दा उपयुक्त खाना भनेको सातु हो, सातु भनेको अन्न भुटेर बनाइएको पिठो हो ।

बिहान अरु ग्रुपभन्दा पछाडि करिव पौने ३ बजे टाउकोमा टर्च लाइट बाली, डोरीमा हार्नेस बाँधेर समूहका सबै सदस्यले सँगै यात्रा सुरु गरियो । सामान्यतया हाई क्याम्पदेखि पिकको यात्रा ५ घण्टादेखि बढीको यात्रा हो । हामी अरूभन्दा केही छिटो थियौँ किनकि लेकको समस्याले कम नै दुख दिएको थियो । हामी ६ हजार १ सय मिटरमाथि पुग्दा बिहानको मिर्मिरे घाम उदायो । बाटोभरिका कठिन यात्रा; उकालो, लेक, चिसो अनि बाटोको २ मिटर आसपासको खर्पास, जहाँबाट भुलवश पनि भित्र छिरियो भने जिउँदो फर्कने सम्भावना न्यून हुन्छ । तर मनमा केवल मेरा पिकको चुचुरो मात्र आइराखेको हुनाले सारा कठिनाई भुलिने रहेछ । बिहानको मिर्मिरे घाम यति पारिलो थियो कि, सायद स्वर्ग त्यही हो, जब घाम लाग्छ त्यसपछि कालो चस्मा लगाउनु पर्ने रहेछ, हामीले त्यहीँ गर्‍यो । हामीले हाम्रो हिमाली पथप्रदर्शक (माउन्टेन गाइड) डेन्डी शेर्पाको सुझाव अनुसार नै हाम्रो पाइला चालेका थियौँ ।

बिहानीको करिव चार घण्टाको हिँडाई, हिडाईँको बिचमा देखिने चारै सुरका हिमाली दृश्यको अनुभव लिँदै हामी मेरा पिकको चुचुरो नजिकैमा पुग्यो । मेरा पिकको चुचुरो एकदम नजिक, यतिखेरको समय मुटु ढुकढुक हुने समय थियो । केही छिनको खाजा खाने समय सहितको विश्राम पनि नलिन पाएजस्तो लाग्ने अनुभूति । मेरा पिकको चुचुरोमै पुग्ने बेला डोरीमा क्याराबिनर्स फिट गरेर उकालो चढ्न पर्ने रहेछ, त्यो चाहिँ अन्तिम इफोर्ट हो । यसपछि समुद्र सतहबाट ठिक ६४७० मिटरमा रहेको चुचुरो, चुचुरोबाट देखिने हिमालहरूको दृश्य, अरे वाह! हिमालको चुचुरोमा पुगेपछि नआउनेको नि आँसु आउने रहेछ । चुचुरोबाट ८ हजार मिटर माथिका सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयु जस्ता हिमाल देखिन्छन् भने अन्य साना हिमाल र शिखरहरू त कति हो कति देखिने, ३६० डिग्री नै हिमाल देखिने ।

मेरा पिकको शिखरमा यति रमाइयो, यति खुसी भइयो, सबैसँग खुसी साटियो । महाकुलुङ गाउँपालिका निवासी राष्ट्रिय निकुञ्ज विभाग अन्तर्गत कार्यरत सिनियर गेम स्काउट भाइ मिङ्‍मा छिरिङ कुलुङ, बहिनी रजनी कुलुङ, महाकुलुङ निवासी दाजुहरू नाम्गेल शेर्पा, तेन्जी शेर्पा, छेवाङ शेर्पा, हाम्रो माउन्टेन गाइड डेन्डी शेर्पा समेत महाकुलुङ निवासी नै हुनुहुन्थ्यो । हामीले महाकुलुङ गाउँपालिकाको पालिका गान गायौँ, गर्वले छाती फुल्यो ।

हिमालको शिखर टेक्नु एउटा जित रहेछ, अनेक संघर्ष र कोशिस पछिको । जसरी युद्धमा जित हुन्छ, जसरी कुनै मिसनमा सफलता पाइन्छ त्यस्तै सफलता रहेछ, सफलता माथि पनि स्वर्गीय अनुभूति हुनुको अर्को मजा । यो त जीवनकै एउटा ठुलो अनुभूति रहेछ । हामीले उक्त अनुभूति स्वयम् भोग्यौँ । अनि बिस्तारै मनले नमानी नमानी बिदाइ भन्यौँ, सुन्दर चुचुरोलाई…