काठमाडौँ । नेपाल पत्रकार महासंघ दैलेख शाखाको अध्यक्षमा दुई उम्मेदवारले समान मत प्राप्त गरेपछि आलोपालो नेतृत्व गर्ने सहमति भएको छ ।
शुक्रबार भएको मतदानमा अध्यक्षका उम्मेदवार अमर बहादुर सुनार र कमल प्रसाद शर्माले सदर मत ६० मध्ये ३०/३० मत प्राप्त गरेका छन् । दुई उम्मेदवारले आधा-आधा कार्यकाल जिम्मेवारी लिने सहमति गरेसँगै निर्वाचन समितिले दुवैलाई विजयी भएको घोषणा गरेको छ ।
अध्यक्ष पदका लागि भएको मतदानमा खसेको ६१ मत मध्ये एउटा मतपत्र खाली फेला परेको थियो । अध्यक्ष द्वयले शपथको प्रारम्भ मितिदेखि एक वर्ष छ महिनाको अवधिसम्म सुनार र त्यसपछि शर्माले अध्यक्षको जिम्मेवारी सम्हाल्ने सहमति भएको निर्वाचन समितिले जनाएको छ ।
राष्ट्रिय समाचार समिति (रासस) र कान्तिपुर दैनिक लगायतका सञ्चार माध्यमका लागि तीस वर्षदेखि दैलेखबाट सक्रिय पत्रकारिता गर्दै आएका सुनार उज्यालो रेडियो नेटवर्क र इन्सेकका जिल्ला सम्वाददाता हुन । उनको महासंघमा दोस्रो कार्यकाल हो । यसअघि २०५८ देखि २०६१ सम्म दैलेख शाखाको अध्यक्ष थिए ।
महासंघको पहिलो निर्णय ‘डेकेन्द्र स्मृति भवन’ बनाउने
नेपाल पत्रकार महासंघको २७ औँ केन्द्रीय अधिवेशनको क्रममा दैलेख शाखामा नव निर्वाचित जिल्ला शाखाले स्वर्गीय पत्रकार डेकेन्द्र स्मृति भवन निर्माणको पहल गर्ने निर्णय गरेको छ । नवनिर्वाचित जिल्ला अध्यक्ष अमर सुनारको अध्यक्षतामा शनिबार बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो ।
महासंघको शाखा खुलेको २३ वर्ष भई सक्दासम्म धेरै समय भाडामा र अहिले जिल्ला समन्वय समितिको भवनमा कार्यालयबाट चलाउनु परेको भन्दै नेपाल सरकारका निकायहरूसँग भवन बनाउन सहयोगका लागि अनुरोध गर्ने निर्णय गरिएको महासंघका जिल्ला सचिव भीमबहादुर सिजापतिले जानकारी दिए ।
विजयी हुने अन्य उम्मेदवारको नामावली :
