काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालसालै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणमा कुनै नयाँ समझदारी नभएको दाबी गरेका छन् ।
मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले आफैँले अघिल्लो साल प्रधानमन्त्री हुँदा गरेका समझदारीलाई फोटोकपी गरेर प्रचार गरिरहेको दाबी गरे ।
‘चीनले अघि सारेको बीआरआई परियोजनालाई नेपालमा पहिलो पटक समझदारी गराएको म दोस्रो पटक प्रधानमन्त्री हुँदा हो । मैले पोहोर साल चीन भ्रमणमा जाँदा संयुक्त वक्तव्यमा नै बीआरआईको कार्यान्वयन फ्रेमवर्कमा हस्ताक्षर गर्नुपर्छ र अन्तिम तयारी गर्ने कुरा गरिएको थियो,’ ‘प्रचण्ड’ले भने, ‘भारत र चीनसँग सन्तुलित सम्बन्ध दूरगामी थिए । मलाई अहिलेको प्रधानमन्त्रीलाई देख्दा अलिअलि खुसी पनि लाग्छ, अलिअलि दया पनि लाग्छ । मैले गतसाल गरेका सबैलाई फोटोकपी गरेर मैले गरेको भनेर प्रचार गरिरहनुभएको छ । ती सबै गतसाल गरिएका सहमति समझदारी हुन् ।’
ओलीले यो पटकको भ्रमणमा सिन्को पनि नभाँचेको ‘प्रचण्ड’को भनाइ छ । ‘केपी ओलीले नयाँ भनेको एउटा सिन्को पनि भाँचेको मैले देखेको छैन । तैपनि मैले गरेका कामलाई उनले मान्यता दिए, त्यसका लागि उहाँलाई धन्यवाद छ,’ उनले भने ।