काठमाडौँ । रौतहटमा स्कारपियो दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । बाराको गढीमाई मेलाबाट सिराहा फर्कँदै गरेका यात्रु सवार बा १६ च ३१६२ नम्बरको स्कारपियो पूर्वपश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका-४ स्थित धन्सार-लमाहा सडक खण्डमा दुर्घटनामा परेको हो ।
तीव्र गतिको स्कारपियो अनियन्त्रित भएर सडकबाट तल खसेर रुखमा ठोक्किँदा चालकसहित ८ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए ।
दुर्घटनामा परी सिरहाको अर्नामा नगरपालिका–३ बंठिया टोलका रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फुलमन्तीदेवी चमार र चालक श्रीकुमार यादवको मृत्यु भएको प्रहरी नायब राईले जानकारी दिए । मृतकहरूको चन्द्रनिगाहपुर अस्पतालमा सनाखत गरिएको हो ।
दुर्घटनामा घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेबी महरालाई उपचारका लागी पर्साको वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।







