काठमाडौँ । नेपालमा विदेशी लगानी विशेष गरी चिनियाँ लगानी आकर्षित गर्न सरकार र निजी क्षेत्रले निरन्तर सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बेइजिङमा आयोजित नेपाल-चीन व्यापार शिखर सम्मेलनमा दुई पक्षीय व्यापार प्रवर्द्धन, लगानीको वातावरण सुधार, र पर्यटन विकासका लागि ठोस कदम चाल्ने सहमति भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड र चीनस्थित नेपाली दूतावासको सहकार्यमा आयोजित यो सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार भइरहेको भन्दै, विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । उनले नेपालको कृषि, जलविद्युत्, सूचना प्रविधि, र पर्यटनजस्ता क्षेत्रहरू अझै लगानीका लागि अत्यन्तै आकर्षक रहेको बताए । साथै, निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा प्राथमिकता दिइएको र विदेशी लगानी संरक्षणमा सरकार सधैँ तत्पर रहने उल्लेख गरे ।
व्यापार असन्तुलनलाई न्यूनीकरण गर्ने आवश्यकता
चीन, नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार र सबैभन्दा ठूलो लगानीकर्ता हो। तथापि, नेपाल(चीन व्यापारमा रहेको असन्तुलन चिन्ताको विषय रहेको छ। प्रधानमन्त्री ओलीले नेपालका कृषिजन्य उत्पादनहरूलाई चिनियाँ बजारसम्म पुर्याउन सहजीकरण आवश्यक रहेको बताउँदै यसलाई सुधार गर्न दुवै देशले पहल गर्नुपर्नेमा जोड दिए ।
चिनियाँ वाणिज्य उपमन्त्री लिंग जीले चीन र नेपालको सम्बन्ध ऐतिहासिक र सुदृढ रहेको बताउँदै आगामी दिनमा नेपालमा चिनियाँ लगानी अझै बढ्ने विश्वास व्यक्त गरे । उनले चीनले अत्यन्त कम विकसित मुलुकहरूलाई प्रदान गर्दै आएको भन्साररहित व्यापार सुविधा डिसेम्बरदेखि नेपाललाई पनि उपलब्ध हुने जानकारी गराए ।
व्यावसायिक वातावरण सुधारका लागि पहल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो एक वर्षमा लगानीमैत्री वातावरण बनाउन सरकार र महासंघले गरेका प्रयासहरूबारे जानकारी गराए । महासंघको पहलमा आठ वटा कानुन संशोधन गरिएका र द्विपक्षीय लगानी सम्झौताका लागि खाका तयार भएको बताउँदै उनले लगानीकर्ताको विश्वास वृद्धि भएको उल्लेख गरे ।
नेपालको क्रेडिट रेटिङ दक्षिण एसियामा भारतपछि उत्कृष्ट रहेको र यसले विदेशी लगानीकर्तालाई प्रोत्साहित गर्ने बताउँदै अध्यक्ष ढकालले पर्यटन पूर्वाधार विकास, सिधा उडानको सहजीकरण, र सीमा क्षेत्रमा पूर्वाधार सुधारका लागि सरकार र निजी क्षेत्रले थप सक्रियता देखाउनुपर्नेमा जोड दिए ।
द्विपक्षीय साझेदारी र आगामी योजनाहरू
सिसिपिआइटीका उपाध्यक्ष झांग साओगांगले नेपाल(चीन व्यापार शिखर सम्मेलनलाई दुई देशबीच आर्थिक साझेदारी बढाउने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरे। उनले नेपालको उत्पादन आयात र चिनियाँ लगानी प्रवर्द्धन गर्न सिसिपिआइटी प्रतिबद्ध रहेको बताए ।
नेपालको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र, र सेवा क्षेत्रको सम्भावना उल्लेख गर्दै, बोर्डले चिनियाँ लगानीकर्तालाई सहजीकरण गर्ने बताए । महासंघको वैदेशिक लगानी फोरमका सभापति मनोज पौडेलले पनि नेपालमा युवा जनशक्ति र प्राकृतिक स्रोतले लगानीका लागि अनुकूल वातावरण बनाएको बताए ।
शिखर सम्मेलनका मुख्य उपलब्धिहरू
शिखर सम्मेलनमा करिब १२० जना चिनियाँ व्यवसायी र नेपालबाट ५० भन्दा बढी उद्यमी सहभागी भए। सम्मेलनअगाडि आयोजित ‘बिजनेस टु बिजनेस’ बैठकले नेपाल-चीन व्यापार सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको थियो।
नेपाल उद्योग वाणिज्य महासंघले पछिल्लो डेढ वर्षमा विदेशमा आयोजना गरेको यो चौथो सम्मेलन हो। यसअघि बेइजिङ, नयाँ दिल्ली, र दुबईमा पनि यस्ता सम्मेलन सफलतापूर्वक सम्पन्न गरिएका थिए।
यो शिखर सम्मेलनले नेपाल र चीनबीचको आर्थिक साझेदारीलाई थप उचाइमा पुर्याउने विश्वास गरिए पनि दीर्घकालीन सुधार र ठोस कार्यान्वयनमा जोड दिन आवश्यक रहेको विश्लेषकहरूको भनाइ छ।