Logo २ माघ २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एसिया र विश्वकप यो हातले उचाल्नु छ : कप्तान महतो


१४ मंसिर २०८१, शुक्रबार


महोत्तरी । यु-१९ नेपाली महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले आसन्न एसिया कप र विश्वकप जित्नु अहिलेको अर्जुन दृष्टि भएको बताएकी छन् युएईमा सम्पन्न दुई वटै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको छनोट प्रतिस्पर्धा जितेर गृह जिल्ला महोत्तरी आएकी १८ वर्षीया पूजाले संक्षिप्त कुराकानीमा मुलुक फर्कँदा सबै क्षेत्रबाट पाएको सम्मानले हर्षविभोर बनाउनुका साथै थप दायित्व बोध बढाएको बताइन् ।

पछिल्लो समय खेलप्रति आम रूपमा जागेको चासो र विश्वासले नेपाली खेल जगत्ले अबका दिनमा झनझन सफलताको सिँढी चढ्ने उनको विश्वास छ । प्रस्तुत छ, कप्तान महतोको महोत्तरीको गौशाला-९ डुमरवानास्थित घरमै क्रिकेटमा उनको लगाव र भविष्यका बारेमा गरेको सङ्क्षिप्त कुराकानीको सम्पादित अंश :

युएईबाट छनोट प्रतिस्पर्धा जितेर फर्केदेखि तपाईंलाई सम्मान र पुरस्कार लिन भ्याइनभ्याइ परेको छ । यसमा कस्तो महसुस गर्नुभएको छ ?
युएईबाट छनोट प्रतिस्पर्धा जित्न सक्दा म निकै हर्षविभोर छु । छनोट प्रतिस्पर्धाको जितले नै यहाँ कति उत्साह दिएको रहेछ भन्ने त मप्रति दर्साइएको स्नेह र सम्मानले नै देखाएको छ । यहाँ आइपुग्नासाथ मधेस प्रदेश सरकार, स्थानीय तहहरू, विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था , खेलकुद जगत र आम सर्वसाधारणबाट पाएको स्नेह र सम्मानले अबका दिनमा अझ राम्ररी अघि बढ्न हौसला र ऊर्जा दिएको छ । खेलप्रति र खासमा क्रिकेटप्रति बढेको यो चासोले अबका दिन खेलका लागि राम्रो समय आउला भन्ने आशा जागेको छ ।

तपाईं ग्रामीण परिवेशको सामान्य किसान परिवारमा जन्मनु भएकी महिला । क्रिकेटमा कसरी जोडिनु भयो ?
हो, तपाईंले भन्नु भएजस्तै म ग्रामीण परिवेशको सामान्य किसान परिवारमै जन्मिएकी हुँ । यहाँको खेतीपातीले घर धान्न धौधौ परेपछि मेरा पिता रञ्जित महतो परिवारसहित कामको खोजीमा भारतको दिल्ली पुग्नुभयो । हामी तीन दिदीबहिनी र एउटा भाइ त्यहीँ (दिल्ली) बस्न थाल्यौँ । मेरी कान्छी बहिनी आरती र भाइ कृष्ण दिल्लीकै एकेडेमीमा क्रिकेट सिक्थे । म उनीहरूलाई पुर्‍याउन जान्थे । त्यहीँ प्रशिक्षकले खै ममा के देख्नु भएर हो, मलाई पनि खेलाउन थाल्नुभयो । मैले चार वर्षदेखि खेलको अभ्यास थालेकी हुँ ।

केही समयपछि भाइ एउटा खेलमा सहभागी हुन नेपाल आए । उनको नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष रोशनकुमार सिंहसँग भेट भएछ । भेटमा भाइले ‘मेरी दिदी पूजा पनि राम्रो खेल्नुहुन्छ, उहाँलाई टिममा राख्नु न’ भनेछन् । भाइ दिल्ली फर्केर मेरो खेलका तस्बिर र भिडियोहरू उपाध्यक्ष सिंहलाई पठाउँदा रहेछन् । मेरो खेल भिडियो र तस्बिरमा हेर्नु भएका उपाध्यक्ष सिंहले मलाई नेपाल झिकाएर खेलाउने निर्णय लिएर मेरा पिताजीसँग समन्वय गर्नु भएअनुसार म काठमाडौँ पुगेँ । उपाध्यक्ष सिंहको पितृवत् कुशल अभिभावकत्व पाएँ । उहाँकै निर्देशन पालना गर्दै अघि बढ्दै जाँदा जिल्ला, प्रदेश हुँदै अहिले देशकै यू–१९ नेपाली महिला क्रिकेट टोलीको कप्तान बन्न सकेको छु । जे उपलब्धि देखिएको छ, पाइएको छ, त्यो क्यान र हाम्रो टोलीको साझा मेहनतको प्रतिफल हो ।

अब के योजनामा हुनुहुन्छ ?
ल, यो पनि भन्नु पर्छ र ! अब केही सातामै(नोभेम्बर मध्यमा)मलेसियामा एसिया कप प्रतियोगिता हुँदैछ । लगत्तै एक महिनापछि डिसेम्बरमा विश्वकप हुँदैछ । अब अहिलेको सपना भन्नुस्, ध्येय वा लक्ष्य भन्नोस्, यी दुवै प्रतियोगितामा सफलता हात पार्नु हो । मलेसियामा आयोजना हुने यी दुवै प्रतियोगिता जित्नु अहिले हाम्रो टोलीको एकमात्र अर्जुन दृष्टि हो ।

अन्त्यमा केही भन्नुहुन्छ कि ?
हजुर, मधेसमा प्रदेश सरकारले केही वर्षअघिदेखि ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सञ्चालन गरेको छ । अब ‘बेटी खेलाउ’ पनि भन्न पर्‍यो भन्ने मेरो आग्रह छ । खेलले किशोर र युवा उमेरका हाम्रा दिदीबहिनीको शारीरिक सुगठन मजबुत हुनुको साथै घरबाहिरका गतिविधिमा सक्रियता बढाउँछ । अनुशासन सिकाउँछ । मनभित्रको दुर्बलता हटाउँछ । यसपालिको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि अहिले जारी छ । खेलमा बढीभन्दा बढी महिला सहभागिताले लैङ्गिक विभेदविरुद्धको अभियानलाई पनि सघाउँछ भन्ने मेरो विश्वास छ ।

Tags :
प्रतिक्रिया दिनुहोस