काठमाडौँ । सांसद प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टी (आजपा)ले सरकारले मनोमानी कर लगाएको भन्दै विरोध गर्ने निर्णय गरेको छ । काठमाडौँमा बसेको आज पाको स्थायी कमिटी बैठकले काठमाडौंमा सरकारको मनोमानी कर लगाउने निर्णयविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
आजपाका अध्यक्ष साहले सरकारको कर लगाउने निर्णयको पार्टीले विरोध गर्ने बताए । ‘आजपाले सरकारको मनोमानी कर आतंक विरुद्ध संघर्षका कार्यक्रम अगाडि बढाउन काठमाडौं उपत्यका विशेष कमिटीलाई जिम्मेवारी तोकेको छ । काठमाडौं उपत्यका विशेष कमिटीले विगतमा काठमाडौंमा सरकारको मनोमानी कर आतंकविरुद्ध विरोध प्रदर्शन गरेको थियो । उसकै नेतृत्वमा आन्दोलनका कार्यक्रम अगाडि बढाउने निर्णय स्थायी कमिटी बैठकले गरेको छ,’साहले जानकारी दिए ।
आजपा स्थायी कमिटी बैठकले पार्टी केन्द्रीय कमिटीको पुनर्गठन गरेको पनि साहले जानकारी दिए ।
त्यस्तै, विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी कायम गर्ने जिम्मा विद्यार्थी मोर्चालाई दिइएको बताइएको छ ।
बैंक, लघुवित्त र सहकारी ठगीविरुद्धको आन्दोलन आज पाको कोसी प्रदेश र गण्डकी प्रदेश कमिटीले अगाडि बढाउने निर्णय पनि भएको साहले बताए ।