संघर्ष र अनुभवले निखारिएका ४७ वर्षीय हिम बहादुर विक जीवनलाई संघर्षको रूपमा परिभाषित गर्छन्। उनी भन्छन्, “संघर्ष र उतारचढाव नै मानिसलाई लक्ष्यसम्म पुर्याउने आधार हुन्।”
काठमाडौँ । उमेर ढल्किएपछि अध्ययन थालेका नेतादेखि सेलिब्रेटीको कथा प्रायः चर्चाको विषय बन्छ । सांसद शान्ता चौधरीदेखि नायिका करिश्मा मानन्धरसम्मले अध्ययनलाई निरन्तरता दिएको समाचार समाजमा प्रेरणा बन्ने गर्छ । बुढेसकालमा अध्ययन थाल्ने वा उमेर छँदा पढ्ने अवसर नपाएका व्यक्तिहरूले पढाइलाई फेरि सुरु गर्ने परिपाटी सामान्य भएको छ । गोरखाका हिम बहादुर विक पनि त्यस्तै संघर्षशील पात्र हुन् ।
कठिन संघर्षको कथा
“संघर्ष जति कठिन हुन्छ, सफलता उति नै सानदार हुन्छ,” हिम बहादुर भन्छन् । जीवनमा ठुला उपलब्धिका लागि कठिन परिस्थितिसँग जुध्नुपर्छ भन्ने उनको विश्वास हो । गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिकामा जन्मिएका उनी आफ्नो मेहनत र दृढता मार्फत ४७ वर्षको उमेरमा न्याय सेवाको शाखा अधिकृत बन्न सफल भए ।
परिवार, साथीभाइ र अग्रजहरूको प्रेरणाले हिम बहादुरको यात्रा सहज भएको हो । बाल्यकालमै अध्ययनमा निकै लगनशील उनले पढाइलाई निरन्तरता दिन कहिल्यै पछि हटेनन् ।
निजामती सेवाको यात्रा
२०३३ साल चैत २६ गते गोरखामा जन्मेका हिम बहादुर विक भक्तबहादुर विक र अमृता विकका १० सन्तानमध्येका जेठा हुन् । उनले २०५० सालमा धादिङको तिरपुरा सुन्दरी माध्यमिक विद्यालयबाट एसएलसी पास गरे । त्यसपछि महेन्द्ररत्न क्याम्पस, ताहाचलबाट विज्ञान विषयमा १२ कक्षा उत्तीर्ण गरे ।
२०५४ देखि २०६० सम्म उनले चितवन, गोरखा र धादिङका विद्यालयहरूमा विज्ञान विषयका शिक्षकका रूपमा अध्यापन गरे। अध्यापनकै क्रममा सहकर्मीहरूले निजामती सेवामा प्रवेश गर्न सल्लाह दिए ।
२०६९ सालमा उनले खरिदार पदमा नाम निकाल्दै निजामती सेवामा प्रवेश गरे । सुरुमा धादिङ जिल्लाका विभिन्न गाविसमा सचिवका रूपमा काम गरेका उनले पछि नायब सुब्बाका रूपमा जिल्ला प्रशासन कार्यालय, धादिङमा सेवा गरे। यसै क्रममा उनले ल क्याम्पसमा भर्ना भई कानुनमा स्नातक गर्न थाले ।
२०८१ सालमा लामो संघर्षपछि उनी न्याय सेवाको शाखा अधिकृत बन्न सफल भए ।
परिवार र अध्ययनको निरन्तरता
हिम बहादुरका एक छोरा र एक छोरी छन् । छोरा चितवन मेडिकल कलेजमा एमबिबिएसको पाँचौँ वर्षमा अध्ययनरत छन् भने छोरी पनि चिकित्सा क्षेत्रमा अध्ययनरत छिन् । उनकी श्रीमती काठमाडौँको एक निजी विद्यालयमा शिक्षिका हुन् । सहपाठी विद्यानन्द सुवेदी र प्रेमनाथ खनियाको प्रेरणाले उनलाई निजामती सेवामा प्रवेश गर्न थप हौसला मिल्यो ।
“सिकाइ अनन्त प्रक्रिया हो,” हिम बहादुर भन्छन् । उमेरले प्रतिस्पर्धामा केही कठिनाइ ल्याए पनि अनुभव र सीपले उनलाई सहयोग गरेको छ । अध्ययनलाई निरन्तरता दिए असफलता टाढा रहन्छ भन्ने उनको विश्वास छ ।
न्याय सेवामा भोगिएका चुनौती
विज्ञान विषयमा लामो समय अध्यापन गरेकाले कानुनका नयाँ पक्षहरू बुझ्न केही कठिनाइ भएको उनले बताए । तर, जिल्ला प्रशासन कार्यालय, धादिङमा मुद्दा शाखामा काम गर्दा कानुन सम्बन्धी ज्ञान हासिल गर्न सहयोग भएको उनको भनाई छ । सहकर्मीहरूको प्रेरणाले पनि उनलाई न्याय सेवामा अघि बढ्न सहज बनायो ।
प्रशासन सेवामा खरिदार पदबाट सुरु गरेका हिम बहादुरले गाविस सचिवका रूपमा विविध मन्त्रालयका कामको अनुभव बटुले । बजेट निर्माण र कार्यान्वयनदेखि नागरिकता वितरण र पासपोर्ट बनाउने प्रक्रियामा सहभागी हुँदा उनले प्रशस्त ज्ञान र सीप हासिल गरे ।
उनले भने, “प्रशासन सेवाको कामले न्याय सेवामा प्रवेश गर्न मलाई सहज बनायो ।” खरिदार र सुब्बा पदमा काम गर्दा प्राप्त अनुभवले उनलाई न्याय सेवामा सशक्त बनाए । हिम बहादुरले न्याय सेवामा सुधार ल्याउन आफू कटिबद्ध रहेको बताए । “देशको कानुन र संविधान राम्रो भए पनि यसको कार्यान्वयनमा केही कमी देखिन्छ,” उनले भने ।
उनले सेवाग्राही र कर्मचारीबीचको व्यवहार सुधार्नुपर्ने आवश्यकता रहेको बताए । शाखा अधिकृत पदमा सिफारिस भएपछि उनले लिएको तालिमबाट सिकेका ज्ञानहरू कार्यान्वयनमा ल्याउन आफू सधैँ प्रयासरत रहने बताए ।
सचिव बन्ने लक्ष्य
हिम बहादुरका अनुसार, “शाखा अधिकृत बन्न नेपाल सरकारका उपसचिव विजय कुमार शर्मा र सहसचिव उद्धव पुडासैनीको मार्गदर्शन महत्त्वपूर्ण रह्यो ।” कानुन सेवाको तयारी गर्दा कम उमेरका सहकर्मीहरूसँग पढ्नुपर्दा केही असहज भए पनि लक्ष्यप्रतिको दृढताले उनलाई सफल बनायो ।
शाखा अधिकृत बन्ने सफलता पछि हिम बहादुरको अर्को लक्ष्य सचिव बन्नु हो ।
हिम बहादुर विकको जीवन कथा संघर्ष, दृढता र प्रतिबद्धताको उत्कृष्ट उदाहरण हो । न्याय सेवाको शाखा अधिकृत पदमा पुगेर उनले आफ्नो जीवनको एउटा ठूलो सफलता हासिल गरेका छन् । उनी समाजका लागि प्रेरणाको स्रोत बनेका छन् । न्याय प्रशासनलाई सुधार्न र समृद्ध बनाउन उनी दृढ छन् ।