काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)ले आफू कानूनी रूपमा दोषी ठहरिएको अवस्थामा एक मिनेट पनि आफ्नो पद छोडेर राजनीतिबाटै बाहिरिने बताएका छन् ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाली काँग्रेसका महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले तामाङको निर्माण कम्पनी कालो सूचीमा रहेकोबारे प्रश्न उठाएपछि जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।
उनले आफूले पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यको टिकट पाउनु अघि नै छोडिसकेको स्पष्ट पार्दै यदि आफू कानूनी रूपमा कहीँ कतै दोषी ठहरिए राजनीति क्षेत्र नै छोडेर आफ्नो पेसा व्यवसायमा फर्किने बताएका छन् ।
उनले भने, ‘समितिको आजको छलफलमा निर्माण कम्पनी कालो सूचीमा परेको विषय पनि उठ्यो । यो मैले सांसद हुनु अगाडी मात्रै होइन, प्रतिनिधि सभाको टिकट पाउनु अघि नै कम्पनीबाट हात झिकेर बसिसकेको छु । तर, त्यति गर्दा पनि कानुन नियमले नेपाल सरकारले पार्टीले पठाएको राज्यमन्त्री छु । तर कानुनभन्दा ठूलो केही छैन । कानुनले भन्यो भने अहिले एक मिनेट पनि यो मन्त्री पद छोडेर म आफ्नो पेसामा, आफ्नो व्यापारमा, आफ्नो परिवारसँग बसेर काम गर्न तयार छु ।’