काठमाडौँ। पार्टीको कर्णाली प्रदेश अधिवेशन चलिरहेका बेला नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जंगबहादुर शाही नेकपा एमालेमा प्रवेश गरेका छन् ।
दैलेख जिल्लाका प्रभावशाली नेता शाही उपनिर्वाचनको मुखैमा एमाले प्रवेश गरेका हुन् । दैलेखको महावु गाउँपालिका अध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । २०७४ मा सोही गाउँपालिका अध्यक्ष जितेका शाही नेकपा एसमा लागेपछि २०७९ को चुनावमा एमाले हारेको थियो ।
मंगलबार कर्णालीका मुख्यमन्त्री एवम् एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले उनलाई पार्टीमा भित्र्याएका छन् । अध्यक्ष शाही यसअघि समाजवादीको जिल्ला अध्यक्षसमेत भइसकेका नेता हुन् ।
नेकपा एसका प्रदेश अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य अम्मरबहादुर थापाका निकटस्थ मानिने केन्द्रीय सदस्य शाहीको एमाले प्रवेशले दैलेखमा खैलाबैला मच्चिएको छ । शाही गत स्थानीय तह निर्वाचनमा पुनः नेकपा एसबाट अध्यक्ष उम्मेदवार बनेर २,२६८ मत पाएका थिए ।
एमालेका हरिप्रसाद उपाध्यायले २,५०० मत पाउँदा काँग्रेसका लछुमान गुरुङ २,९०० मतका साथ विजयी भएका थिए । गुरुङको निधनपछि यहाँ मंसिर १६ मा उपचुनाव हुँदैछ । शाहीसँगै नेकपा एसका कार्यकर्ताहरु एमाले प्रवेशले महाबुको उपचुनावमा उलटफेर हुने देखिएको छ ।