Logo २१ मंसिर २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सुनसान छन् तिहारमा गाउँघर


१८ कार्तिक २०८१, आइतबार


सोलुखुम्बु । “पहिलेपहिले काग तिहारदेखि गाउँका ठिटाठिटी जम्मा हुन्थे । पाँच/छ दिनसम्म नाचगान र देउसी खेल्ने चलन हुन्थ्यो”, सोलु दूधकुण्ड नगरपालिका-११ तिङ्लाका ९९ वर्षीय टकबहादुर नेपालीले पुराना दिन सम्झिए, “तिहार लागेपछि गाउँको रौनक अर्कै हुन्थ्यो । अहिले त गाउँघरमा बुढापाकाभन्दा कोही छैनन्, गाउँ नै शून्य छ देउसी र भैलो नै सुनिँदैन ।” 

उनलाई यस वर्ष तिहार लागे जस्तै लागेन । अधिकांश युवा वैदेशिक रोजगारमा छन् । भएका युवा पनि कर्मथलोबाट गाउँ फर्किएनन् । जसले गर्दा तिहारमा गाउँघर सुनसान बनेको नेचासल्यानका राजीव शर्माले बताए । उनले भने, “गाउँघरमा पाका पुस्ताहरू मात्र बाँकी छन् युवा धेरै विदेशमा छन् । काठमाडौँ गएकाहरू पनि फर्किएनन् । त्यसैले तिहारमा गाउँघर रमाइलो छैन ।” 

युवा गाउँमा रित्तिएसँगै बुढापाका, बालबच्चा र असक्त मात्रै बाँकी रहेको स्थानीय बताउँछन् । सोताङका शिक्षक रामबहादुर बस्नेतका अनुसार गाउँघरदेखि जिल्लाका बजारमा देउसी भैलो खेल्ने खासै देखिएका छैनन् । केटाकेटीहरू छिटफुट देउसी खेल्न हिँडेको उनले बताए । विगतमा टोलैपिच्छे विभिन्न समूह तथा क्लबले देउसी खेल्ने चलन भए पनि यस वर्ष देउसी खेल्ने मान्छे नभएपछि धेरै गाउँहरूमा सामूहिक देउसी खेल्ने क्रम बढेको छ । 

गाउँघरमा रमाइलो गर्ने मान्छे कम भएपछि गाउँका सबै एकै ठाउँमा जम्मा भएर ‘साउण्ड सिस्टम’बाट गीत बजाएर देउसी खेलेको मुक्लीका स्थानीय गणेश विकले बताए । यस वर्षको तिहारमा सदरमुकाम सल्लेरी बजारमा विगतमा झैँ चाडपर्वको रौनक देखिएन । सल्लेरी बजार सुनसान छ भने व्यवसायीमा व्यापार नभएको गुनासो छ । “अघिल्लो वर्षसम्म तिहार आसपासमा दैनिक रू. ९० हजारसम्मको व्यापार हुने गरेकामा यस वर्ष मुस्किलले रू. १० हजारको व्यापार भएको सल्लेरीका व्यापारी निरकुमार नेपालीले बताए । 

“आर्थिक संकटले मुलुक ग्रस्त बनिसकेछ, पहिला जस्तो किनमेल गर्ने मानिस नै छैनन् । सल्लेरीमा मैले पसल गरेको पाँच÷छ वर्ष भयो तर यस वर्षको जस्तो तिहार कहिल्यै भएको थिएन”, उनले भने, “तिहारका लागि आवश्यक मसलादेखि फलफूलसमेत बिक्रीका लागि ल्याइयो तर किन्ने मान्छे नै आएनन् ।”  

किराना होस वा अन्य पसलमा ग्राहकहरूको उपस्थिति थोरै छ । व्यवसायीमा निराशा छाएको देखिन्छ । “कोरोना कहरको समयमा योभन्दा राम्रो व्यापार भएको थियो, तर अहिले त्योभन्दा खस्कियो, खै किन हो सर्वसाधारणमा चाडबाडको उमंग देखिँदैन”, बासाका स्थानीय व्यापारी उजीर कार्कीले भने । 

विगतमा सुरक्षाका कारण राति ९ बजेपछि देउसी भैलो खेल्न प्रशासनले प्रतिबन्ध लगाउने गरेको थियो । तर पनि रातभर देउसी भैलो खेल्नेको कमी नहुने सल्लेरीका स्थानीय बाबुराम श्रेष्ठले स्मरण गरे ।  यस वर्ष २४सै घण्टा देउसी भैलो खेल्ने व्यवस्था प्रशासनले मिलाएको छ । तर देउसी भैलो खेल्नेहरू भेटिँदैनन् । रातभर गुञ्जिने देउसी गीत साँझ ७ नबज्दै बन्द हुने गरेको स्थानीयको भनाइ छ । 

पहिलेपहिले रोजगार, अध्ययन तथा काम विशेषले जिल्ला बाहिर जानेहरू तिहारअघि गाउँ फर्किन्थे । यस वर्ष चाडपर्वमा गाउँ फर्कनेको संख्या खासै नदेखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । चाडपर्वमा यात्रु नठगिउन् भनेर ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन गरेर समन्वय गरेको छ । यद्यपि जिल्ला भित्रिनेको सङ्ख्या न्यून हुँदा कतिपय गाडीहरू खाली आउने गरेको दूधकुण्ड ज्वालामाइ यातायात समितिका सदस्य जीवन थापाले बताए । 

उनले भने, “अघिल्लो वर्ष काठमाडौँबाट सोलु आउने टिकट नपाएर हामीले रातारात राति नै गाडी काठमाडौँ फर्काउनु परेको थियो । यसपालि त्यस्तो छैन । जिल्ला आउने यात्रु नहुँदा गाडी काठमाडौँ मै थन्किएर बसेका छन् ।” 

लोप हुँदै मौलिकता 
तिहार भन्ने बित्तिकै देउसी भैलोको याद आइहाल्छ । तर पछिल्लो समय तिहारमा फाट्टफुट्ट खेलिने देउसी भैलोमा मौलिकता लोप हुँदै गएको छ । खोटाङको ऐंसेलुखर्क गाउँपालिका-६ ज्यामिरेकी मिना रसाइलीलाई आफू सानो छँदा खेलेको देउसी भैलोको याद खुब आउँछ । तर पछिल्ला वर्षहरूमा देउसी भैलो खेल्दा त्यो मौलिकता नभेटिएको उनले बताइन् ।  हरेक चाडपर्वको आफ्नै महत्त्व र विशेषता छ । तिहारको रमाइलो पक्ष झिलिमिली र देउसी भैलो हो । तर पछिल्लो समय  देउसी भैलो खेल्ने शैली परिवर्तन भएको छ । 

आधुनिक प्रविधिले नेपाली मौलिक संस्कार ओझेलमा पारेको सिद्धिचरण नगरपालिका–७ ओखलढुङ्गाका राकेश श्रेष्ठ बताउँछन् । देउसी भैलो खेलिने प्रगमा बलिराजाको कथा जोडिएर आउँछ । ती कथनहरू तिहारको समयमा देउसी भैलोमा प्रकट गर्ने पुरानो संस्कार भएको बुढापाका बताउँछन् । तर आधुनिकताको प्रभाव बढ्दा देउसी भैलोको मौलिकता लोप हुन थालेको नेचासल्यानकी हरिमाया कटेलको बताउँछिन् । 

“एक त गाउँघरमा युवा छैनन्, भएकाहरू पनि क्यासेट बजार नाच्छन् गाउँछन् मुखले भट्ट्याएर, मादल बजाएर देउसी खेल्ने चलन हरायो”, कट्टेलले भनिन् । मौलिक देउसी भैलोको सट्टा रेकर्ड गरिएका गीतमा नृत्य प्रस्तुत गर्दा देउसी भैलोको मौलिकता ओझेलमा परेको छ । हिन्दी, अंग्रेजी तथा भड्किलो शैलीका गीतमा प्रस्तुत गरिने नृत्यलाई देउसी भैलो मान्ने जमात बढ्दो छ ।

Tags :
प्रतिक्रिया दिनुहोस