काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालभित्र मनाइने विभिन्न चाडपर्वले जनताका बीचमा आपसी एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पुर्याउँदै आएका बताएका छन् ।
दीपावली, नेपाल संवत् ११४५, छठ, फाल्गुनानन्द जयन्ती, गुरु नानक जयन्तीलगायतका पर्वका अवसरमा आज शुभकामना दिर्दै उनले विविधतायुक्त सांस्कृतिक ऐक्यबद्धता नेपालीहरूको मौलिक पहिचानका रूपमा रहेको बताए ।
पूर्वप्रधानमन्त्री दाहालले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास मुलुकको समृद्धिका आधारका रूपमा रहेको स्पष्ट पारे। यस वर्ष बाढीपहिरोका कारण मुलुकले ठूलो जनधनको क्षति ब्यहोर्नुपरेको उल्लेख गर्दै अध्यक्ष दाहालले सङ्कटको अवस्थाबाट सम्हालिँदै सबै नेपालीहरूले आफ्नो सांस्कृतिक पर्व मनाउने अवसरको सिर्जना होस् भनी कामना गरेका छन् ।