काठमाडौँ। साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत दोस्रो सेमिफाइनलमा अहिले भइरहेको नेपाल र भारतबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भरिभराउ दर्शकको माझ भइरहेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गर्न सकेनन् । रंगशालामा लामो समयपछि भरिभराउ दर्शक खेल हेर्न उपस्थित भएका छन् ।
खेलको सुरुदेखि नै भारतले आक्रामक फुटबल खेल्दै नेपालमाथि दबाब बनाएको थियो । तर गोल गर्न सकेन । पहिलो हाफमा दुवै टोलीले गोलका लागि लगात प्रयास गरे पनि सफल भएन ।
पहिलो हाफमा दुवै टोलीले गोलको राम्रो अवसर सदुपयोग गर्न सकेनन् ।
खेलको २० मिनेटमा भारतले राम्रो अवसर पाएको थियो । ज्योति चौहानले सिक्स यार्ड बक्सबाट हानेको बल बक्समाथिबाट बाहिरिँदा भारतले अग्रता लिने अवसर गुमायो । त्यसअघि मनीषाको कर्नरमा ज्योति किसनले हानेको हेडर नेपालकी अमिसा कार्कीलाई लागेर फर्किएको थियो त्यही रिबाउण्डमा ज्योतिले हानेको बल बाहिरिएको हो ।
नेपालले पनि पहिलो हाफमा केही राम्रो अवसर बनाए पनि सदुपयोग गर्न सकेन ।
३१ मिनेट सावित्रा भण्डारी साम्बाको प्रहार भारतीय गोल किपर ई पान्थोइ चानुले रोकिन् । पूर्ण रूपमा क्लियर नभएको बल बक्समा पुगेकी अमिसा कार्कीले पहार गरेकी थिइन् तर त्यो पहार पनि किपर ई पान्थोइ चानुले बचाइन् ।