काठमाडौँ । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारले सुशासनको मामिलामा दोहोरो मापदण्ड अपनाएको आरोप लगाएको छ । माओवादी प्रवक्ता अग्नि सापकोटाले विपक्षी नेताहरूलाई छानीछानी जेल हालिएको र काँग्रेस-एमालेका मान्छेलाई जोगाइएको बताएका हुन् ।
आज पार्टीको प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारले सुशासनमा क्रान्ति गरेको दाबी गरेका थिए । तर, अहिलेको सरकारले पक्षपातपूर्ण व्यवहार गरिरहेको उनको भनाइ छ ।
सापकोटाले भने, ‘नेपालको इतिहासमा कानूनभन्दा माथि कोही पनि छैन भन्ने सन्देश दियो हाम्रो सरकारले दिएको थियो । कोही निर्दोष नफसुन् र कोही दोषी कोही नछुटुन् भन्ने मान्यताका साथ बिनामोलाहिजा कारबाही गरिएको थियो । अहिलेको सरकारले विपक्षी दलका नेता व्यक्तिलाई छानीछानी मुद्दा हाल्ने र जेल पठाउने काम गरिरहेको छ । म नामहरू पनि भन्न तयार छु । काँग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेल लगायतलाई प्रमाण हुँदाहुँदै पनि खुल्ला रूपमा संरक्षण गरियो ।’
सहकारी प्रकरणमा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई रास्वपाले काखी च्याप्न खोजेको हो रु भनेर पत्रकारले सोधेका थिए । जवाफमा सापकोटाले भने, ‘यो विषय अदालती प्रक्रियामा गएको छ । उहाँहरूले नारा लगाउनुभएको छ । हामी दोहोरो मापदण्ड अपनाउनु हुँदैन भनिरहेका छौँ । पक्षपात गर्नु हुँदैन भनेका छौँ । हाम्रो दृष्टिकोण यही हो ।’