रुपन्देही । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) गणेश अर्यालले दसैँको अवसरमा रुपन्देहीको मानव सेवा आश्रममा आश्रित वृद्ध आमाबुवाहरूसँग बिताएको समयलाई विशेष बनाउँदै समाजमा देखिएको विरोधाभासमाथि कडा कटाक्ष गरेका छन्। उनले आश्रममा रहेका वृद्ध आमाहरूको स्थिति देख्दा, तिनका सन्तानहरूले सामाजिक सञ्जालमा ‘ह्याप्पी मदर्स डे’ भनेर देखावटी प्रेम देखाउने प्रवृत्तिप्रति आलोचना गरेका छन्।
प्रजिअ अर्यालले भावुक हुँदै भने, “जन्मदात्री आमालाई वृद्धाश्रममा राखेर माता तीर्थ औँसीको दिनमा ‘ह्याप्पी मदर्स डे’ भन्दै आमाको तस्बिर सार्वजनिक गर्ने सन्तानहरूको सम्झना भयो। यस्ता महान् सपूतहरूको झलझली याद आयो। यो हाम्रो समाजमा देखिएको गहिरो विरोधाभास हो।”
दसैँको अवसरमा आश्रममा पुगेका प्रजिअ अर्यालले त्यहाँ रहेका बृद्धबृद्धाहरूसँग समय बिताउँदै आशीर्वाद लिँदै भने, ‘यी बृद्धबृद्धाको अनुहारमा देखिएको पीडाले हाम्रो समाजको वास्तविकता उजागर गरेको छ। सन्तानहरूले आफ्ना अभिभावकलाई आश्रममा राखेर स्नेहको नाटक गर्नुभन्दा उनीहरूको सेवा गर्नु नै सच्चा कर्तव्य हो।’
अर्यालको यो वक्तव्यले समाजमा पसेको देखावटी संस्कारप्रति कटु कटाक्ष मात्रै गरेको छैन, गहिरो सन्देश पनि दिएको छ । उनले थपे, “हाम्रो संस्कार र परम्पराले हाम्रा अभिभावकप्रतिको जिम्मेवारीलाई सधैँ उच्च स्थानमा राख्नुपर्छ। सामाजिक सञ्जालमा फोटो पोस्ट गरेर मात्र सन्तान धर्म पूरा हुँदैन, वास्तविक सेवा र माया दिनुपर्छ।”