काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले बाढी पहिरोबाट घाइतेहरू भएकाको उपचार र बेपत्ताहरूको खोजबिनका लागि सबै संयन्त्र सक्रिय बनाउन प्रशासन र सुरक्षा निकायको ध्यानाकर्षण गराएकी छिन् ।
आइतबार एक अपिल जारी गर्दै उनले दैवी प्रकोपका कारण भएको क्षतिबाट पीडित नागरिकलाई राहत र पूर्नस्थापनाका लागि जुट्न सबैमा अपिल गरेकी हुन् । बाढी पहिरो र डुबानका कारण सडक, पुल र राजमार्गहरू बन्द भएको भन्दै उपाध्यक्ष घिमिरेले सवारी साधन रोकिएका कारण अलपत्र परेका यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउन र अवरुद्ध भएका सडकहरू यथाशीघ्र खुलाउनका तीनै तहका सरकारलाई आग्रह गरिन् ।
‘अविरल वर्षाका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भएको जनधनको क्षतिले अत्यन्त दुःखी र स्तब्ध भएको छु’, अपिलमा घिमिरेले भनेकी छिन्, ‘बाढी पहिरो र डुबानमा परी दिवङ्गत हुनुभएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु । साथै विपदमा परि घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’