काठमाडौँ । काँग्रेस र एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।
मंगलबार साँझ बालुवाटारमा भएको भेटमा लामिछानेले प्रधानमन्त्री ओलीसँग उपसभामुख राना मगरलाई हटाउने विषयमा जानकारी लिएको स्रोतले जनाएको छ । पोखरामा मंगलबार भएको पार्टीको कार्यक्रम सकेर काठमाडौं फर्के लगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न लामिछाने बालुवाटार पुगेका हुन् ।
रास्वपा स्रोतका अनुसार लामिछानेले सत्तारुढ दलका सांसदबाट उपसभामुखलाई राजीनामा दिन दबाब दिएको बारे प्रधानमन्त्रीको धारणा बुझ्न खोजेका थिए । ओलीले भने संसद्मा उठेको विषय त्यहीँ निराकरण हुने जवाफ दिएका थिए ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सत्तारुढ दलका सांसदले उपसभामुख रानामगरले पदको दुरुपयोग गरेको भन्दै राजीनामा दिन माग गरेका थिए । तर प्रतिपक्षी दलहरू माओवादी केन्द्र र रास्वपा सांसदहरुले भने उपसभामुखलाई हटाउन खोजेर सत्तारुढ दलहरूले लोकतन्त्र मार्न खोजेको आरोप लगाएका थिए ।
उपसभामुख रानामगरले अमेरिकामा हुने एक कार्यक्रममा सहभागी गराउन आफ्नो लेटरप्याडमा केही व्यक्तिलाई सिफारिससहित गत वर्ष अमेरिकी दूतावासलाई लेखेको पत्र विवादमा परेको थियो ।