काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुखबाट इन्दिरा रानालाई पदबाट हटाउन खोजेको भन्दै आपत्ति जनाएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख हटाउने विषयमा राजनीतिक दलहरूले छलफल गर्नु बेठीक भएको बताए ।
‘माननीय उपसभामुखलाई महाअभियोग लगाउने जस्तो कुरामा राजनीतिक पार्टीहरू बसेर छलफल गर्ने कुरा लोकतन्त्रका लागि कहिले पनि मान्य हुने छैन’ उनले भने ।
संवैधानिक परिषदमा सत्तापक्षको बहुमत पुग्दैन भन्ने नाममा उपसभामुखलाई हटाउन खोजिनु लोकतान्त्रिक हुन नसक्ने सांसद परियारले बताए ।
‘आज सम्मानित पदलाई परिषद्लाई आफ्नो बहुमत पुग्दैन भन्ने नाममा लोकतन्त्रका लागि लडेका र आफूलाई लोकतन्त्रको मसिहा भन्ने पार्टीहरू गुपचुप सल्लाह गरेर उपसभामुखलाई पदबाट हटाउने जुन कर्म गर्ने तयारी गर्दै हुनुहुन्छ । स्मरण रहोस्–राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा पद गुमाउला तर लोकतन्त्रका लागि सधैँ लड्नेछ, जनताको पक्षमा लड्नेछ’, उनले भने ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखले पद अनुकूलको आचरण नगरेको भनेर प्रश्न उठेको बताएका थिए ।
राज्य व्यवस्था समितिमा समेत यो विषयमा उजुरी रहेको उल्लेख गर्दै सत्तारुढ दलहरूले हटाउने तयारी गरेको छ । यस सम्बन्धमा रास्वपाले आपत्ति जनाएको हो ।
प्रमुख सचेतक परियारले अहिले सहज छ भनेर कसैलाई हटाउने र अर्को व्यक्ति लैजाने गर्दा भविष्यमा आफैँलाई अप्ठ्यारो पर्न सक्नेतर्फ सचेत हुन काँग्रेस-एमालेलगायत सत्तारुढ दललाई आग्रह गरे ।
‘‘ एक वर्ष तपाईँले जित्नुहोला, दुई वर्ष तपाईँले जित्नुहोला । स्मरण रहोस् तपाईँहरूले आफैले खनेको खाल्डोमा आफैँ पर्नुहुनेछ । यो पनि लेखेर राख्नुस्’ परियारले भने ।
सङ्ख्याका आधारमा जे पनि गर्न सकिन्छ भन्ने हो भने जनताको साथ खोजिने उनले चेतावनी दिए ।