नेपालगञ्ज । नेपालगञ्ज म्याराथनको दशक उत्सवलाई भव्यताका साथ मनाउन आगामी ३ असोजमा नेपालमै पहिलो पटक १० किमी रात्रिकालीन दौड आयोजना गरिने भएको छ। यस प्रि-इभेन्टले म्याराथनको १० औँ संस्करणलाई विशेष र यादगार बनाउन भूमिका खेल्ने विश्वास आयोजकको छ ।
धारा नेपालगञ्ज म्याराथनका आयोजक क्रियटिभ ह्याण्डस्ले दौडलाई संविधान दिवसको अवसरमा आयोजना गर्न लागेको हो । राति ९ बजे नेपालगन्जको बीपीचोकबाट दौड सुरु हुने छ, जसको रुट एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एआईएमएस) द्वारा प्रमाणीकरण गरिएको छ।
यो पहिलो पटक आयोजना हुन लागेको रात्रीदौडमा व्यावसायिक धावक र कम्तीमा ५ किमी दौडको अनुभव भएका धावक–धाविकालाई मात्र सहभागी गराइनेछ। दौडमा पुरुष, महिला, र भेट्रानतर्फका धावकहरूबिच स्पर्धा गराइने छ। शीर्ष तीन विजेताहरूलाई क्रमशः नगद २५ हजार, १५ हजार, र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने भेट्रानतर्फ नगद १५ हजार, १० हजार, र ५ हजार रुपैयाँ पुरस्कार राखिएको छ।
यसै दौडसँगै फन रनका रूपमा अन्य खेलाडीहरूको पनि सहभागिता रहनेछ। खेलाडी दर्ता १ भदौबाट खुलिसकेको छ भने रात्रीदौडका लागि दर्ता मिति १५ भदौदेखि २० गतेसम्म राखिएको छ। आयोजकले दौडको विशेष प्रकृतिलाई ध्यानमा राख्दै व्यवस्थापन, तयारी, र सुरक्षा प्रबन्धमा विशेष ध्यान दिएको जनाएको छ।
यस वर्षको म्याराथन २२ मंसिर, शनिवारका दिन आयोजना हुने छ। विगतमा मंसिरको पहिलो शनिबार आयोजना हुँदै आएको म्याराथन यस वर्ष कर्णालीमा हुने बृहत् राष्ट्रिय खेलकुदसँग समन्वय गर्न २२ मंसिरमा तय गरिएको हो। म्याराथनको दशक उत्सवको स्मरणमा, आयोजकहरूले ५ मंसिरको दिन नेपालगन्जको बीपीचोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गर्ने कार्यक्रम पनि राखेका छन्।
धारा नेपालगञ्ज म्याराथनले एआईएमएसको प्रमाणीकरण रुटमार्फत नेपालगञ्ज र कोहलपुरलाई जोड्दै, नेपालकै छैटौँ पुरानो सहर नेपालगन्जलाई खेलकुदको माध्यमबाट प्रवर्धन गर्दै आइरहेको छ।
यस विशेष आयोजनाले नेपालको म्याराथन इतिहासमा नयाँ अध्याय थप्ने अपेक्षा आयोजकको रहेको छ ।