काठमाडौँ । बुधबार सर्वोच्च अदालत अन्तर्गत संवैधानिक इजलासमा निर्वाचन आयोगविरुद्ध १४ वटा रिट निवेदनको पेसी तोकिएको छ ।
आम निर्वाचन २०७९ सँग सम्बन्धित ती रिट निवेदनमा कतै पुनः मतगणनाको माग गरिएको छ भने कतै पुनः निर्वाचन गराइ पाउन माग गरिएको छ ।
प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीसहितको संवैधानिक इजलासमा बुधबार ती मुद्दाको पेसी तोकिएको हो ।
प्रतिनिधि सभा सदस्यमा स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली काँग्रेसका धनराज गुरुङसमेतलाई विपक्षी बनाएर एमालेका बुद्धिमान श्रेष्ठले दायर गरेको रिट निवेदन पनि बुधबारकै लागि पेसीमा चढेको छ । श्रेष्ठ स्याङ्जाको प्रदेश सभा क्षेत्र नम्बर २ (२) मा नेपाली काँग्रेसका महेश भट्टराईसँग पराजित भएका थिए । श्रेष्ठले प्रदेश सभा सदस्य भट्टराईलाई पनि रिट निवेदनमा विपक्षी बनाएर निर्वाचन बदर गरी पुनः निर्वाचन गराउन माग गरेका छन् ।
यस्तै सुर्खेत–२ को प्रदेश सभा (१) मा एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका यामलाल कँडेलसहित निर्वाचन आयोगविरुद्ध नेपाली काँग्रेसका कालीप्रसाद शाक्यले दायर गरेको रिट निवेदन पनि संवैधानिक इजलासमा पेसी तोकिएको छ । शाक्यले पुनः मतगणनाको माग गरेका छन् । उनी कँडेलसँग १६१ मतले पराजित भएका थिए ।