काठमाडौँ । उपभोक्ता हित विपरीतका कुनै उजुरी तथा गुनासो भएमा अब क्युआर कोड स्क्यान गरी पठाउन सकिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले उपभोक्ता अधिकार संरक्षणका लागि क्युआर कोडसहितको अनलाइन प्रणाली शुभारम्भ गरेको हो ।
उपभोक्ता अधिकार संरक्षणका लागि उजुरी, गुनासो र सुझाव दिन क्युआर कोड सहितको अनलाइन प्रणाली प्रशासन कार्यालयमा मंगलबारबाट शुभारम्भ भएको हो । गृह सचिव एकनारायण अर्यालले एक कार्यक्रमकाबीच क्युआर कोडसहितको अनलाइन प्रणाली शुभारम्भ गरे ।
सचिव अर्यालले जिल्ला प्रशासन कास्कीले गरेको उक्त कार्यको देशभरका अन्य प्रशासन कार्यालयहरूले अनुसरण गर्नेमा गृह मन्त्रालय विश्वस्त रहेको बताए । उपभोक्ताको अधिकार संवैधानिक हक रहेको र यसको संरक्षण एवं प्रवर्द्धन सबैले गर्नुपर्ने उनले बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पहिलो पटक कास्की जिल्लाले सुरु गरेको क्युआर कोड स्क्यान सिस्टमले सेवा प्रवाहसँगै सुशासन प्रवर्द्धन, कालोबजारी नियन्त्रण र सिन्डिकेटको अन्त्य गर्ने विश्वास व्यक्त गरे । उपभोक्ता हित विपरीतका कुनै पनि उजुरी तथा गुनासो भएमा क्युआर कोड स्क्यान गरी पठाउन उनले आग्रह गरे ।
यसरी पठाएको गुनासोहरू जिल्ला प्रशासन कार्यालयका बजार निरीक्षक समक्ष पुग्ने छ । क्युआर कोड स्क्यान सिस्टम सुरु भएसँगै गुनासो र उजुरीका लागि प्रशासन कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको छ ।
