काठमाडौँ । समाजवादी मोर्चाको सचिवालय बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम नसकिएकाले बुधबार बस्ने गरी सकिएको छ । सोमबार दिउँसो एकान्त कुनामा बसेको बैठकमा छलफल जारी नै रहेकाले राजनीतिक दस्ताबेजले पूर्णता नपाएको सदस्य सचिव खड्कबहादुर विश्वकर्माले बताए ।
साउन १ गते बसेको मोर्चाको बैठकले वर्तमान विकसित राजनीतिक घटनाक्रम र भावी योजनाबारे समीक्षात्मक राजनीतिक दस्ताबेज पेस गर्न १५ दिनको समय सीमा दिएको थियो । तर, ढिलो गरी समाजवादी मोर्चाको सचिवालय बैठक सोमबार पहिलो पटक बसेको हो ।
सबैको धारणा आइसकेपछि दस्ताबेजलाई अन्तिम रूप दिने विश्वकर्मालाले बताए । प्रस्तावित दस्ताबेजमा मोर्चाको विगतको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम र आगामी योजना रहेको उनले जानकारी दिए ।
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी महिन्द्र राय यादव समूह मिलेर बनेको मोर्चाको सचिवालयमा नेकपाबाट विश्वकर्मासहित माओवादीबाट देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल र नेसपा यादव समूहबाट गंगानारायण श्रेष्ठ रहेका छन् ।