काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले काठमाडौँ उपत्यकामा डेंगु रोकथामका लागि काठमाडौँ उपत्यकाका स्थानीय तहहरुबीच बैठक डाकेका छन् ।
उपत्यकाका काठमाडौँ, भक्तपुर तथा ललितपुरमा डेंगु संक्रमणका घटना वृद्धि भएर महामारीको रूप लिन सक्ने जोखिम देखिएपछि नियन्त्रणका लागि आवश्यक सहकार्य गर्न भन्दै मन्त्री पौडेलले उपत्यकाका महानगर, उपमहानगर तथा नगरपालिका सदस्य रहेको फोरमलाई बोलाएका हुन् ।
मन्त्री पौडेलले मिलेर काम गरे निमन्त्रण गर्न सकिने भन्दै मन्त्रालय नीतिगत निर्णय र थप सहकार्यका लागि तयार रहेको बताए ।
साउनदेखि फैलिएको डेंगु भदौ र असोजमा थप फैलन सक्ने जोखिम रहेको विज्ञहरूको भनाई उदृत गर्दै मन्त्री पौडेलले यसलाई भयावह बन्न नदिन स्थानीय तहबाट साथ र सहकार्यको उद्देश्य राखेको बताए ।
उनले सरसफाइको कमीका कारण संक्रमण फैलने देखिएको भन्दै मन्त्रालयले देशैभर सातामा एक दिन एकै समयमा सफाइ गर्न लागेको भन्दै स्थानीय तह र प्रदेशबाट समेत साथ मिलेमा देशैभर सफाइ अभियान थालिने बताए ।
मन्त्रालयले डेंगु जोखिमलाई ध्यानमा राखेर सातै प्रदेशका अस्पतालमा बेग्लै डेस्क राखेर उपचार थालेको मन्त्री पौडेलले जानकारी दिए । अब उपचारसँगै फैलन नदिन पहल आवश्यक परेको भन्दै मन्त्री पौडेलले वडा तहसम्म सचेतना विस्तार गरेर डेंगुसँगै हैजासमेत नियन्त्रण गर्न आग्रह गरे । मन्त्रालय यसका लागि स्थानीय तहलाई हरसम्भव साथ दिने पनि उनले प्रतिबद्धता जनाए ।
मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहले जमेको पानीमात्र कम गर्न सकिए पनि धेरै क्षति नियन्त्रण गर्न सकिने भन्दै एकै दिन देशैभर सफाइ अभियान सञ्चालन गर्न सकिने बताए ।
कार्यक्रममा सहभागी काठमाडौँ, भक्तपुर तथा ललितपुरका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले आफ्ना तर्फबाट भएका प्रयासहरूको जानकारी गराउँदै डेंगु तथा हैजा नियन्त्रणमा हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
यसैगरी गाउँपालिका तथा नगरपालिका महासंघका प्रतिनिधिहरूले पनि एक अर्का एक्ला एक्लै काम गर्ने प्रवृत्ति रहेको भन्दै सहकार्य गर्ने मन्त्रालयको प्रस्ताव सकारात्मक रहेको बताए ।
स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले खानेपानीको गुणस्तर नपुर्याउनेलाई कारबाही गर्न तथा निजी अस्पतालहरूबाट तथ्यांकमा सहयोग नमिलेको भन्दै सघाउन मन्त्रालयलाई आग्रह गरे । ललितपुर महानगरले सरसफाइमा जोड दिइएको बताएको छ भने काठमाडौं महानगरले हरेक साता लामखुट्टेको खोजी तथा नियन्त्रण कार्यलाई गति दिइरहेको बताएको छ ।