काठमाडौँ । चलचित्र क्षेत्रको नियामक संस्था चलचित्र विकास बोर्डको अध्यक्षका लागि ६ जनाले आवेदन दिएका छन् । हिजो आवेदन दिने अन्तिम म्याद थियो ।
पहिलो आवेदन एमाले निकट चलचित्रकर्मी तथा सञ्चारकर्मी दिनेश डिसीले दिएका थिए । त्यसयता थप ५ जनाको आवेदन गरेको हो । अन्य आकांक्षीहरूमा करिश्मा मानन्धर, राजेश थापा, प्रकाश भट्टराई दीपा बस्नेत र अर्जुन कुमार डंगोल रहेका छन् ।
चर्चित अभिनेत्री करिश्मा मानन्धर सत्तारुढ दल एमालेको सांस्कृतिक विभागको सदस्य छिन् । राजेश थापा सांस्कृतिक संस्थानका पूर्वमहानिर्देशक हुन् ।
उनी एक पटक बोर्ड सदस्य पनि भएका थिए । यस्तै, प्रकाश भट्टराई र अर्जुन कुमार डंगोल पनि दयाराम दाहालको पालाका बोर्ड सदस्य हुन् । भट्टराई पूर्व माओवादी हुन् । एमाले र माओवादी एकीकरण हुँदा उनी बादलको समूहबाट आएका थिए । उनले एउटा चलचित्र निर्देशन पनि गरेका छन् । डंगोलले द युगदेखि युगसम्म, चपली हाइट लगायत केही चलचित्रको निर्माण गरेका छन् ।
दीपा बस्नेत पनि एमालेप्रति आस्थावान् चलचित्र निर्देशक हुन् ।
सञ्चार मन्त्रालयले विज्ञ टोलीको सल्लाहमा औपचारिक प्रक्रिया अनुसार ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्छ । उनीहरूमध्ये एक जनलाई मन्त्रिपरिषद् बैठकले नियुक्ति गर्नेछ ।