काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एक वर्षभित्र मन्त्रालयअन्तर्गतका सबै ऐन संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूल हुने गरी संशोधन गर्ने बताएका छन ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, (फोनिज)को २५औँ स्थापना दिवसका अवसरमा उनले पञ्चायतकालमा बनेका सञ्चार ऐनबाट लोकतन्त्रको सुदृढ हुन नसक्ने धारणा राखे ।
उनले आफूले एक वर्षमा ऐनमा सुधार गर्ने प्रतिबद्धता जनाए । उनले मिडिया विधेयक छिटोभन्दा छिटो संसदबाट पारित गर्ने गरी तयारी भइरहेको जानकारी दिए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघले लोकतन्त्र स्थापनामा गरेको योगदानको चर्चा गर्दै मन्त्री गुरुङले संघीय संरचनाको लाभ कति उठायौँ भन्नेमा समीक्षा जरुरी रहेको बताए । संघीय संरचना हटाउनेभन्दा पनि अझै बलियो कसरी बनाउने भन्नेतर्फ अबको आदिवासी जनजाति आन्दोलन केन्द्रित हुनुपर्नेमा उनको जोड थियो ।