काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइफाड) का एसिया तथा प्रशान्त क्षेत्रका निर्देशक रिहाना राजाले भेटवार्ता गरेकी छन् ।
निर्देशक रिहाना राजा र कोषका प्रतिनिधिलाई आज मन्त्रालयमा स्वागत गर्दै मन्त्री अधिकारीले नेपालको कृषि क्षेत्रमा आइफाडले गर्दै आएको सहयोगका लागि आभार व्यक्त गरे । नेपाल र आइफाडबीचको सम्बन्ध पुरानो र गहिरो रहेको उल्लेख गर्दै उनले यो सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।
आइफाडको सहयोगमा कृषि मन्त्रालय अन्तर्गत हाल कृषि क्षेत्र विकास कार्यक्रम (एएसडिपि) सञ्चालनमा रहेको छ भने कोषले कृषि विकास रणनीति परिमार्जनको लागि पनि सहयोग गरेको भन्दै मन्त्री अधिकारीले यी र यसभन्दा अगाडि सञ्चालन भएका आयोजना र सहयोगले नेपालको कृषि क्षेत्र तथा ग्रामीण अर्थतन्त्रको विकासमा उल्लेख्य योगदान पुर्याएको चर्चा गरे । उनले भने, “सरकारले यस आर्थिक वर्षदेखि कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने लक्ष्य लिएको छ । उत्पादनदेखि बजारीकरणसम्मको कृषि इकोसिस्टम सुधार कार्ययोजना कार्यान्वयन गर्ने लक्ष्यमा आइफाडबाट आवश्यक सहयोग प्राप्त हुनेछ भन्ने विश्वास छ ।”
भेटमा आइफाडका निर्देशक रिहाना राजाले आगामी दिनमा पनि सहकार्यलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री अधिकारीको सचिवालयले जनाएको छ ।