२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यता सुरु भइसक्यो 

अ+ अ-

तानसेन पुगेपछि तम्घास जाने बसमा बसेँ । बस खचाखच थियो । कन्डक्टर भाइले डिक्कीमा झोला कोच्दै भने , ‘फुट्ने सामान त छैन नि ?’ बस होचो कदको रहेछ ।  टाउको झुकाएर उभिएँ । यसो चारैतिर आँखा फिराएर हेरेँ । अहो ! यहाँ त सिट पाउनेहरू पनि झुकेर बसेका रहेछन् । मेरो अगाडि र पछाडि उभिनेहरू मभन्दा होचा थिए । परन्तु उनीहरू पनि टाउको झुकाएरै उभिएका थिए ।

कोही कसैसँग बोलिरहेको थिएन । बस तानसेन बस स्टपबाट उकालो लाग्यो । धम्कीले गलेको जराजीर्ण कायाझैँ घ्यार्र घ्यार्र गर्दै थियो बस । लाग्दथ्यो, उसलाई कतै जाने इच्छा नै थिएन । रमाइलो भए पो गुड्नुमा पनि मजा हुन्छ । हँसिला खुसिला मान्छे बोक्न पाए पो मनमा आनन्द लाग्छ । ड्राइभर दाइले क्यासेट बजाउन बिर्सेछन् । युवतीहरू खिलखिलाएर हाँस्न बिर्सेछन् । ठट्टा, मस्करी, उखान र गाउँ खाने कथा हराएछन् । कहिलेसम्म गुड्नु यी अबोलाहरू बोकेर ?

करिब दश मिनेटपछि माथि बतासे डाँडाबाट तेर्सो बाटो सुरु भयो । बस अलि तीव्र गतिमा पश्चिमतिर सोझियो । यात्रीहरू सबै मौन थिए । र मौन रहनुको कारण पनि सबैलाई थाहा थियो । ‘बोल बोल मछली मुख भरी पानी’ ।

त्यही नीरवतामा एक जना वृद्धा बोलेको सुनियो, ‘बा बितेको कति भओ नि नानी ?’  युवतीले सजल नजरले वृद्धालाई हेरिन् । भनिन्, ‘छ महिना भओ आमा ।’ आमाका आँखा पनि आँसुले भिजे I  ‘कस्ता पापीहरू है ! सानो हुँदादेखि नै सँगै खेलेको , सँगै गाई चराएको र  सँगै घाँस दाउरा गरेको साथीलाई पनि मार्न सक्ने । कस्तो निष्ठुर हृदय ।’ बसका कन्डक्टर वृद्धाको नजिकै गएर इसाराले नबोल्ने सङ्केत गरे । वृद्धा आज्ञाकारी बालिकाझैँ चुप लागिन् ।

अर्को दस मिनेटपछि कन्डक्टरले भने , ‘सम्म बारी छ ?’ कोही थिएन । चन्न्यान पुगेपछि एक जना कनफट्टा जोगी उत्रेर भैरव स्थानतिर उकालो लागे । भैरव स्थान जाने दर्शनार्थी र बलिको सङ्ख्या नगण्य देखिन्थ्यो । त्यो महा मौनको समयमा सायद काल भैरवको भोक पनि शान्त भएको थियो ।

दश  किलोमिटर छिट्टै सकियो । हार्थोकमा ओर्लेँ । त्यहाँ मानिस त थिए, तर बजारिया रौनक र चमक दमक थिएन । गफाडीहरू पनि लजालु र अल्पभाषी भएछन् । मानिसहरूमा ‘अड्कलेर बोल्नुमै कल्याण छ’ को भाव झल्कन्थ्यो ।  ‘अचेल कता छौ ? सन्चै आयौ ?’ जस्ता औपचारिक कुरा मात्र सोधे । कतै होहल्ला छैन । कोही यता आऊ भन्दैन । कसैले आज यतै बसम् भन्दैन । पुलिस गाउँ छाडेर हिँडेछ । बैंक पनि भागेछ ।

घर पुगेपछि एकान्तमा बल्ल गाउँलेहरूको बोली फुट्यो । फलानोकहाँ सत्र जना आएर भात खाए रे । फलानीकहाँ एघार जना आएर भैँसीको थारामा सुते रे । फलानोलाई शोषक भन्दै थर्काए रे । फलानीले मुख खेलाए बापत दुई थप्पड खाइन् रे । फलानालाई घिसार्दै वनतिर झारे रे ।

एक दिन घनघोर अँधेरी रातमा रिडीतिरबाट रिपको वनको बाटो हुँदै आएका डेढ – दुई सय मानिस चकल्दी खोलातिर झरे रे …..

सत्र वर्षअघि २०६४ सालको एउटा शनिवारका दिनको कुरा हो I द्वन्द्वरत उभय पक्षका अचाक्लीबारे ‘आकीर्ण अमानुष  शीर्षकमा लामै निबन्ध लेख्छु भनेर माथि उल्लिखित विवेचन कोर्दै  थिएँ I  त्यत्तिकैमा उताबाट  ‘यता सुरु भइसक्यो’ भनेर फोन आयो I मलाई  ‘ल आएँ’ भन्दै माथिको मेलोलाई यथा अवस्थामा अधुरै छाडेर हिँडेको याद छ I जति नै प्रयास गरे तापनि अतीतमा अधुरो छाडेर हिँडेको कार्यलाई अहिले आएर पूरा गर्न सकिँदो रहेनछ I

यहाँहरूलाई लाग्ला, ‘यो नाथु निबन्ध लेख्न छुट्दा पनि केकेन बिते जस्तो ।’  तर त्यसो होइन । यो छुट्नु त घटनामय जीवनयात्रा भित्रको एउटा प्रतीकात्मक घटना मात्र हो । यो केवल अनेकौँ छुटाइको एउटा सङ्केत या प्रतिनिधि विम्ब मात्र हो ।

जीवनमा ‘यता सुरु भइसक्यो’को प्रभावमा परेर यति धेरै अवसरका गाडी छुटाएको छु नि, भनी साध्य छैन I परन्तु आज यो मुकाममा पुगेपछि भित्तामा अडेस लाएर बस्दै गर्दा महसुस हुन्छ, मैले  ‘यता सुरु भई सक्यो’का ती दर्जनौँ मौका नछोपेको भए पनि केही न केही त गुम्ने नै रहेछ I आखिर हाम्रो जीवन मौका छोप्नु र गुमाउनु बिचको नाजुक सन्तुलन त रहेछ ।

सायद म सानैदेखि थाहै नपाई अरू जस्तो नभई आर्कै बन्न चाहन्थेँ । सायद म जस्ता अरू सबैको पनि आआफ्नो व्यक्तित्वको निजस्व थियो I  सायद म भिन्न देखिन चाहन्थेँ, भलै त्यसमा मूर्खताको आभास किन नहोस् । हाई स्कुलमा पढ्दा पढ्नमा राम्रामध्ये अरू सबैले कापीमा गृहकार्य गर्थे । मेरो भने कापी नै हुँदैनथ्यो । अरूका किताबमा बाहिरबाट जिल्द लगाएको हुन्थ्यो । मेरा किताबहरू परीक्षा सुरु हुँदा नहुँदै चिथरामा परिणत हुन्थे ।

म निम्न मध्यम वर्गीय किसानको छोरो । मेरो माथिल्लो खस्यौलीको प्राकृतिक अनुहार सुन्दर भए तापनि उत्पादनको मामिलामा किफायती नै हो । त्यहाँ जब्बर प्रकृति र झन् जब्बर किसानबिच कसले जित्ने भनेर निकै प्रतिस्पर्धा हुन्थ्यो । प्रकृति सितिमिति दिनै नचाहने, किसान भने जसरी भए पनि लिएरै छाड्ने । हाम्रो जमिन पाडो मरेको हतुवा भैँसीझैँ चाम्रो थियो । आधा घण्टासम्म कमलो घाँस हालेर एक जनाले पछाडि कन्याउने र अर्कोले पगार्ने गरेपछि बल्ल दुग्ध धारा चुहाउने ।

खस्यौलेहरूले कन्जुस धर्तीलाई मलजल र दासता गरेर रत्याएका थिए । धर्ती माता बरा जति कन्जुस्याइँ गरे तापनि ‘यिनले नछाड्ने नै भए’ भन्ने सोचेर  होला, हामीप्रति अनुराग राख्दै कल्याणी हुन विविश हुन्थिन् । परिश्रमलाई नै पुरस्कार मानेपछि शारीरिक एवं मानसिक थकाइ र पीडा पनि कम हुँदो रहेछ । जब भाग्यमा बुहार्तन नै भोग्नु छ भने नानाथरी पिरलो मानेर के फाइदा ? जीवनको कठोर सत्य बुझेका किसानहरू सिसिफसका चेलाझैँ सानका साथ भरमग्दुर प्रयत्न गर्थे । ‘मजबुरीका नाम महात्मा गान्धी’ ।

हाम्रो समग्र इलाकाका पूर्वजप्रति हामी सबै अत्यन्त ऋणी छौँ । साबिकमा करिब पौने तीन सय वर्षसम्म पाल्पा राज्यको राजधानी थियो हाम्रो इलाका । पुरानो पाल्पाको पतन भएपछि हाम्रो ठाउँ रानुले परित्याग गरेको मौरीको घारझैँ अनाथ भयो । शक्ति, सत्ता र सम्पत्ति हुनेहरू यहाँबाट बाटा लागे, नहुनेहरू अडिए । केही समयका लागि मानिसको सुविधा र सम्पत्ति खोस्न सकिन्छ, परन्तु पौरखीले आफ्नो भाग्यको निर्माण आफै गरिहाल्दो रहेछ । समयक्रममा पाल्पाले आफ्नो मेहनतको बलमा पुनः गौरवको सास फेर्न थाल्यो ।

मैले यहाँ यतिका कुरा उल्लेख गर्नुको कारण के हो भने जननी र जन्मभूमि असल भए भने म जस्तो लापरवाह र असावधान सन्ततिको पनि केही न केही उद्धार नै हुँदो रहेछ । मैले जति नै बेवास्ता र मनलागी गरे तापनि रिपधारा, चिदिया र मगरानधाराको पानीले मलाई यत्तिको बन्न र रहनमा प्रेरित गरिरह्यो । यसै सिलसिलामा मनग्गे सुविधाको अभावमा पनि परिश्रमी किसानका सन्ततिलाई यथोचित शिक्षा, प्रेम र करुणाले अभिषिक्त गर्ने हटिया, बरडाँडा, कुसुम खोला र देउरालीका तत्कालीन परम आदरणीय गुरुहरूप्रति पनि ससम्मान कृतज्ञता सहित आभार व्यक्त गर्न चाहन्छु ।

कलेज पढ्न थालेपछि पनि नानीदेखि लागेको बानी सुध्रेन । अरू सबैले कक्षामा नोट गरेको लेखोटलाई विस्तृतीकरण र साफी गरेर आर्को कापीमा सार्थे । मैले चाहिँ त्यही खेस्राबाट काम चलाउँने गर्थेँ । यसरी बारम्बार गल्ती दोहोर्‍याइरहने आदतबाट निकै नै मार खाइरहे तापनि बानी सुधार्न सकिन । नोकरीमा प्रवेश गरेपछि पनि माथिल्लो पदका लागि लोक सेवा तयारी गर्दै जाने कि विभिन्न बान्कीका ‘यता सुरु भइसक्यो’तिर लाग्ने भन्ने द्विविधा पर्दा सदैव यता सुरु भइसक्योलाई नै साथ दिँदै आएँ  ।

मैले गाडी छुटाएर केही अवसर गुमाएँ, गाडी नछुटाएकाहरूले पनि मैले छोपेका अनेकन अवसर गुमाए I मलाई तत्कालको सन्दर्भमा ‘यता सुरु भइसक्यो’ले जुन सन्तुष्टि दियो, सायद छुटेको गाडीले दिने सन्तुष्टि त्योभन्दा बढी हुन्थ्यो कि । तथापि आज जीवनयात्राको यस पडाबमा विश्रान्ति लिँदै गर्दा भने समयको गाडी समातेर अगाडि जाने र पछाडि छुट्नेको अवस्था उस्तै हुँदो रहेछ भन्ने महसुस भएको छ । निष्ठुर समयले पनि कालान्तरमा आएर सबैप्रति दयालु हुँदै समावेशी व्यवहार गर्दो रहेछ I जीवनको एउटा बिसौनीमा पुगेपछि एक प्रकारको समानता स्थापना हुँदो रहेछ ।

मैले अतीतमा गाडी छुटाएर के के अवसर गुमाएँ भन्ने कुरा मलाई राम्ररी थाहा छ I परन्तु सायद बरा गाडी समात्नेहरूलाई मैले पाएको र उनीहरूले गुमाएको अवसर के होला भन्ने थाहा पत्तो छैन  I आजका मितिमा उनीहरू, म र म जस्ता तमाम ‘हामीहरू’ घुम्दै फिर्दै त्यस्तो समान ‘प्रतीक्षालय’मा आइपुगेका छौँ, जहाँबाट छुट्ने गाडीले आआफ्नो मुहूर्त अनुरूप सबैलाई ‘यता सुरु भइसक्यो’को चरम सदरमुकामतिर प्रस्थान गराउने छ I   

प्रतिक्रिया दिनुहोस