काठमाडौँ । भन्सार नाकामै अफ्लाटक्सिनको परीक्षण सुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार भारत तथा अन्य मुलुकहरूबाट आयात गरिने खाद्य पदार्थ तथा दानाजन्य पदार्थहरूमा माइकोटक्सिनको मात्रा मुख्य भन्सार नाकामै परीक्षण गर्न थालिएको हो ।
मुख्य भन्सार नाकास्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूबाट अफ्लाटक्सिन परीक्षण गरी आयात प्रवेश अनुमति प्रदान गर्ने गरी परीक्षण सुरु भएको विभागले जनाएको छ । खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर कायम राख्नको लागि आलीदेखि थालीसम्मका सम्पूर्ण चरणहरूमा खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्नु पर्दछ भन्ने मान्यता बमोजिम विभागले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
परीक्षणका क्रममा अफ्लाटक्सिनको मात्रा पाइएमा विभागले आयात गरेकै देशमा फिर्ता पठाउने गरेको छ । नेपालगन्ज भन्सार नाकामा भारतबाट पैठारीको लागि ल्याइएको ६० हजार ५ किलो मकैको नमुनामा अफ्लाटक्सिनको मात्रा ५८.४ पिपिवी पाइएकोले उक्त मकैको कन्साइन्मेन्ट निर्यात गर्ने देशमै फिर्ता पठाइएको विभागले जनाएको छ । उक्त नमुनामा पाइएको अफ्लाटक्सिनको मात्रा नेपाल सरकारले मकैमा तोकेको माइकोटक्सिनको अधिकतम मात्रा भन्दा झण्डै तीन गुणा बढी रहेको पाइएको थियो ।
दाना बनाउन प्रयोग गर्ने उद्देश्यका साथ आयात गर्न लागिएको उक्त विषाक्त मकै नेपालगन्ज एकीकृत जाँच चौकीस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले आयात गर्न नमिल्ने भनी नेपालगन्ज भन्सार कार्यालयलाई प्रतिवेदन पठाएकोले उक्त मकै फिर्ता भएको हो । नेपाल बाहिरबाट आयात गरिने मकै, पिना, भटमास लगायतका खाद्य तथा दानाजन्य पदार्थहरूमा माइकोटक्सिनको जाँच भन्सार नाकामै गरिनुपर्ने मागबमोजिम नै विभागले परीक्षण सुरु गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मतिना जोशी वैद्यले बताइन् । खाद्य उद्योग तथा दाना उद्योगहरूमा प्रयोग गरिने कच्चा पदार्थहरूको गुणस्तर तथा स्वच्छता कायम गर्न सके मात्र त्यस्ता उद्योगबाट उत्पादित खाद्य पदार्थ तथा दाना पदार्थहरू गुणस्तरीय हुने र खाद्य स्वच्छता कायम हुने भएकाले उद्योगहरूले गुणस्तरीय कच्चा पदार्थको प्रयोग गर्नु पर्ने वैद्यको भनाई छ ।
हाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तरगतका भन्सार नाकास्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरू विराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्जका साथै प्रदेशस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरू विराटनगर, जनकपुर, हेटौँडा, भैरहवा, नेपालगन्ज र धनगढीमा अफ्लाटक्सिन परीक्षणका लागि मेसिन जडान गरी प्रयोगशालाहरूको क्षमता वृद्धि गरिएको छ । नियामक निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य तथा दाना पदार्थमा हुन सक्ने माइकोटक्सिनका सम्बन्धमा कृषक वर्ग तथा आम उपभोक्ताहरूमा सचेतना जगाउने कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । खाद्य पदार्थ तथा दाना जन्य पदार्थहरूमा माइकोटक्सिनको मात्रा परीक्षण गरी तोकिएको मात्रा भन्दा बढी माइकोटक्सिन भएका खाद्य पदार्थ तथा दाना पदार्थका सम्बन्धमा कानुन बमोजिमको कारबाही विगतदेखि नै गर्दै आएको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले बताए ।
नेपाल सरकारले विभिन्न किसिमका खाद्य पदार्थ तथा दानाजन्य पदार्थहरूमा विभिन्न किसिमका कन्टामिनेन्ट्सहरूको अधिकतम मात्रा नेपाल राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याउने गरेको छ । यसै सन्दर्भमा २०८० जेठ १५ मा राजपत्रमा कुखुराको दानाको गुणस्तर तथा मात्रा प्रकाशित गरी उक्त मितिदेखि १८० दिनपछि लागू हुने गरी कार्यान्वयनमा ल्याएको विभागले जनाएको छ ।
के हो माइकोटक्सिन ?
ढुसीजन्य विषालु रासायनिक पदार्थलाई माइकोटक्सिन भनिन्छ । सबै किसिमका ढुसीहरूले माइकोटक्सिन नबनाउने भए तापनि केही ढुसीहरू माइकोक्सिन उत्पादन गर्ने खालका हुन्छन् ।
प्राकृतिक रूपमा ढुसीबाट उत्पादित यस्ता माइकोटक्सिनहरु धेरै किसिमका छन् । त्यसमध्ये अफ्लाटक्सिन, डिअक्सीनिभालेनोल, जेरालेनोन, ओक्राटक्सिन, फ्युमोनिसिन र प्याटुलिन प्रमुख किसिमका माइकोटक्सिनहरु मध्येमा पर्दछन् । कृषि उपजहरू जस्तै मकै, गहुँ, जौ, चामल, दाल लगायतका अन्न तथा दलहनहरू, स्याउ लगायतका फलफूलहरू, बदाम, काजु, पिस्ता लगायतका ड्राइ फुडहरू, विभिन्न किसिमका पिनाहरू, दाना तथा दाना बनाउन प्रयोग हुने कच्चा पदार्थहरूका साथै मसलाजन्य खाद्य पदार्थहरू लगायतका कृषि उपजहरूमा बाली कटान गर्नु अघि वा बाली कटान गरिसकेपछि भण्डारण, ढुवानी, प्रशोधन लगायतका चरणहरूमा ढुसीजन्य प्रकोपका कारण विभिन्न किसिमका माइकोटक्सिनहरूको मात्रा बढी पाइने गर्दछ । जब तापक्रम, आर्द्रता, खाद्य पदार्थमा पानीको मात्रा र अन्य वातावरण अनुकूल हुन्छन् तब ढुसीहरू बालीनाली तथा खाद्य पदार्थमा वृद्धि भई माइकोटक्सिन उत्पादन गर्दछन् ।
माइकोटक्सिनले पार्ने असर
माइकोटक्सिनहरूको मात्रा बढी भएका खाद्य पदार्थहरूको उपभोगले मानिस सिकिस्त बिरामीसमेत पर्न सक्छन् ।
खाद्य पदार्थमा भएको माइकोटक्सिनको प्रकार अनुसार बिरामीहरूमा फरक फरक लक्षणहरू देखा पर्दछन् । लक्षणहरू विषाक्त खाद्य पदार्थको मात्रा तथा बिरामीको उमेर र स्वास्थ्य स्थितिमा समेत निर्भर गर्दछ । यदि विषाक्त खाना खाने व्यक्ति पहिल्यै नै बिरामी वा कुपोषित भएमा त्यस्ता व्यक्तिलाई माइकोटक्सिनले अझ बढी असर गर्न सक्दछ ।
माइकोटक्सिनको मात्रा बढी भएका खाद्य पदार्थको उपभोगले अल्छी लाग्ने, वाक्वाकी तथा बान्ता हुने गर्दछ । माइकोटक्सिनको मात्रा अत्याधिक भएमा मानिस तथा पशुपन्छीको मृत्यु समेत हुन सक्छ ।
माइकोटक्सिन लामो समयसम्म थोरै मात्रामा सेवन गरे पनि यसले बालबालिकाहरू पुड्को हुने र वयस्क मानिसमा जन्डिस लगायत विभिन्न रोगहरूका साथै क्यान्सरसमेत हुने गर्दछ । यदि स्तनपान गराउने आमाले माइकोटक्सिन युक्त खाना खाएमा त्यसले शिशुको स्वास्थ्यमा समेत असर पुर्याउने हुन्छ । माइकोटक्सिनको सेवनले मानिसमा अन्य सङ्क्रामक रोग लाग्ने सम्भावना बढ्नुको साथै यसले कुपोषणको अवस्थालाई थप जटिल बनाउन सक्दछ ।
कुखुराको दाना बनाउँदा प्रयोग गरिने मकै, भटमास पिना, ढुटो, सूर्यमुखी पिना जस्ता कच्चा पदार्थमा वा तयार भैसकेको दानामा ढुसी लागि माइकोटक्सिनको मात्रा बढी भएमा कुखुरामा माइकोटक्सिन विषाक्तताको कारणले ब्रोइलरमा शारीरिक वृद्धि कम हुने र लेयर्समा अण्डा उत्पादन घट्ने गर्दछ ।
खाद्य तथा दाना पदार्थमा माइकोटक्सिनका कारण स्वास्थ्य क्षेत्रमा मात्र नभई आर्थिक रूपमा समेत असर गरिरहेको हुन्छ । साथै दाना पदार्थमा माइकोटक्सिनको मात्रा बढी भएमा त्यस्तो दाना खाएको पशुपन्छीको दूध, मासु तथा अण्डामा माइकोटक्सिनको उपस्थिति हुने भएकोले अन्ततः त्यस्तो विषाक्त दूध, मासु तथा अण्डा खाने उपभोक्ताको स्वास्थ्यमा नै असर पुर्याइरहेको हुन्छ ।
समाधानका उपाय र विभागको प्रयास
बालीनालीलाई ढुसीको प्रकोपबाट जोगाउनु, खाद्य तथा दानाजन्य पदार्थको उचित भण्डारण, ढुवानी तथा प्रशोधन गर्नु र माइकोटक्सिनको मात्रा परीक्षण गरेर मात्र खाद्य तथा दाना पदार्थहरू आयात गर्नु नै यसको असरबाट जोगिने उत्तम उपाय हुन् ।
यसै सन्दर्भमा नेपाल सरकारले विभिन्न किसिमका खाद्य पदार्थ तथा दानाजन्य पदार्थहरूमा विभिन्न किसिमका माइकोटक्सिनको अधिकतम मात्रा राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको छ । साथै नियामक निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य तथा दाना पदार्थमा हुन सक्ने माइकोटक्सिनका सम्बन्धमा कृषक वर्ग तथा आम उपभोक्ताहरूमा सचेतना जगाउने कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
खाद्य पदार्थ तथा दाना जन्य पदार्थहरूमा माइकोटक्सिनको मात्रा परीक्षण गरी तोकिएको मात्रा भन्दा बढी माइकोटक्सिन भएका खाद्य पदार्थ तथा दाना पदार्थका सम्बन्धमा कानुन बमोजिमको कारबाही गर्दै आएको छ । भारत तथा अन्य मुलुकहरूबाट आयात गरिने खाद्य पदार्थ तथा दानाजन्य पदार्थहरूमा माइकोटक्सिनको मात्रा मुख्य भन्सार नाकास्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूबाट परीक्षण गरी आयात प्रवेश अनुमति प्रदान गर्ने कामको सुरुवात भएको छ ।
विभागका अनुसार राष्ट्रिय अर्थतन्त्र र जनस्वास्थ्यमा प्रत्यक्ष असर पुर्याउन सक्ने ढुसीजन्य विष माइकोटक्सिनको असरलाई न्यूनीकरण गर्न कृषक वर्ग, खाद्य तथा दाना व्यवसायी, खाद्य तथा दाना आयातकर्ता, नियामक निकाय, स्वास्थ्यकर्मी, उपभोक्ता तथा नागरिक समाज सबैको समन्वय अपरिहार्य छ ।