काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवेशद्वारमा गत असार १६ गतेदेखि धर्नामा बस्दै आएका कृषि प्राविधिक कर्मचारीहरूले धर्नाको कार्यक्रम स्थगित गरेका छन् ।
कृषिमन्त्री रामनाथ अधिकारीले १५ दिनभित्र आवश्यक निकासा दिन पहल गर्ने भन्दै आश्वासन दिएपछि कर्मचारीहरूले धर्ना स्थगित गरेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेलले मन्त्रीको आग्रहमा धर्ना स्थगित भएपनि अन्य दबाब मूलक आन्दोलन जारी रहेको जानकारी दिए । माग पूरा नहुँदासम्म काममा नफर्कने उनको भनाइछ ।
आन्दोलनरत कर्मचारीहरूले आज पनि मन्त्री र सचिवलाई भेटेर आफ्ना माग पूरा गराउन दबाब दिएका थिए । कृषि मन्त्रालय मातहतका विभिन्न कार्यालयमा कार्यरत तीन सय बढी प्राविधिक कर्मचारीहरू आफ्नो वृत्ति विकास हुन नसकेको भन्दै आन्दोलनमा छन् ।
सम्बन्धित समाचार : आन्दोलनरत कर्मचारीहरूको माग १५ दिनभित्र सम्बोधन गर्न मन्त्री अधिकारीको निर्देशन