काठमाडौँ । गायक योगेश्वर अमात्यको जग्गा धितो कीर्ते गरेर ऋण लिएको आरोप लागेका ८ जना सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । उनीहरूलाई एक वर्षदेखि ४ वर्षसम्म कैद सजाय भएको छ ।
विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले २ जनालाई ४/४ वर्ष, २ जनालाई २र२ वर्ष र ४ जनालाई १/१ वर्ष जेल सजाय गरेको हो । उनीहरूविरुद्ध १९ करोड बिगो कायम गरेर मुद्दा दायर भएको थियो । अमात्यको १२ बिघा जग्गाको कीर्ते गरेर ऋण लिएको आरोपमा सीआईबीले अनुसन्धान गरेको थियो । त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले पनि मुद्दा चलाएको थियो।
बिल्वा भूमि वन प्रालिका नक्कली प्रतिनिधि रेशमबहादुर सिलवाल र मेरलाइन इन्टरप्राइजेजका उविन्द्रराज शाक्यलाई ४/४ वर्ष कैद र जनही ७ करोड ६० लाख रुपैयाँ जरिवाना भएको छ । मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई २र२ वर्ष कैद र जनही ७ करोड ६० लाख रुपैयाँ जरिवाना भएको विशेष अदालतले जनाएको छ । यस्तै रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधानलाई १र१ वर्ष कैद र जनही ३ करोड ८० लाख रुपैयाँ जरिवाना सुनाइएको छ ।
अमात्यको बारास्थित जग्गाको कीर्ते डकुमेन्ट तयार गरी काठमाडौँको न्यूरोडस्थित कुमारी बैंकबाट १९ करोड रुपैयाँ ऋण लिएको उनीहरूमाथि अभियोग थियो ।