काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गर्ने हो भने खुला छलफल गर्न आह्वान गरेका छन् । उनले प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव पनि अघि सारे ।
आज संसदमा बोल्दै उनले केही पश्चिमी देशहरूको नक्कल गरेर दुई दलीय व्यवस्था लागू गर्न खोजिएको ओपन सेक्रेट भएको बताए ।
उनले भने, ‘म भन्न चाहन्छु, ४७ सालदेखि ६३ सलसम्म तपाईँहरूले भनेकोजस्तै व्यवस्था र अवस्था थियो नि । स्थायित्व थियो त त्यतिबेला ? १६ वर्षमा १५ वटा सरकार बनाउने तपाईँहरू नै होइन ? स्थिरता हो त्यो ? समानुपातिक समावेशी नभएपछि सबै ठिक हुन्छ ? संविधान संशोधन नै गर्ने हो भने आउनुस् खुला छलफल गरौँ । प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔँ। दलित र महिलाको प्रतिनिधित्व अझै बढाऔँ । विपन्न वर्गको पहुँच बढाएर लैजाऊँ । फेरि महिला, दलित, आदिवासी, मुस्लिम, धार्मिक अल्पसङ्ख्यकलाई पहिलेजस्तै राज्यका निकायमा प्रतिनिधित्वविहीन बनाउने षडयन्त्र अब नेपालमा किमार्थ सफल हुने छैन । हिजो जसको प्रतिनिधित्व केवल प्रतिकात्मक र निरङ्कुश सामन्तहरूको दयामा आधारित थियो । त्यो सुनिश्चित भएको छ ।’