डोटी । डोटीको बडीकेदार गाउँपालिका र बोगटान फुड्सील गाउँपालिकाको सिमानामा रहेको पर्यटकको आकर्षक गन्तव्यका रूपमा रहेको बडीकेदार धाम क्षेत्रमा भौतिक संरचना निमार्णको कार्यले तीव्रता पाएको छ ।
पर्यटन विभागको सहयोगमा बडीकेदार धाम क्षेत्रमा विभिन्न भौतिक संरचना निमार्ण कार्य भइरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए । गाउँपालिकाले पनि बडीकेदार धाम क्षेत्रको प्रचार प्रसार र प्रवर्द्धनका साथै पार्किङ स्थलसम्म डबल कटिङ, बडीकेदार धाम क्षेत्रमा १२ वटा अस्थायी शौचालय निमार्ण लगायतका कार्य गरेको समेत अध्यक्ष साउँदले बताए । बडीकेदार धाम क्षेत्रको विकासको लागि पालिकाले प्रदेश सरकार, सङ्घ सरकार, विभिन्न सङ्घ संस्थाहरू सँग समन्वय सहकार्य गरिरहेको समेत बताए ।
बडीकेदार धाम क्षेत्र सुदूरपश्चिम प्रदेशकै महत्त्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थलको रूपमा रहेको बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताई । पालिकाले यस क्षेत्रको विकासका लागि अस्थायी शौचालय निमार्ण गर्नुका साथै प्रचार प्रसारमा जोड दिएको समेत बताइन् । यस क्षेत्रको विकासका लागि बोगटान फुड्सिल गाउँपालिका र बडीकेदार गाउँपालिकाले योजनाका साथ अगाडी जान आवश्यक रहेको समेत उपाध्यक्ष कलेलले बताइन् ।
डोटीको लागि बडीकेदार धाम क्षेत्रको प्रचार प्रसार गर्नुका साथै आवश्यकता अनुसारका भौतिक संरचना बनाउन आवश्यक रहेको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताए । बडीकेदार र बोगटान फुड्सील गाउँपालिकाको बिच केन्द्रमा रहेको बडीकेदार धामको विकास गर्न सके यस क्षेत्रको समग्र विकासमा सहयोग पुग्ने समेत प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए ।
पर्यटन विभाग सँगको सहकार्यमा बडीकेदार धाम क्षेत्रमा भौतिक संरचना निमार्णको कार्य तीव्र रूपमा अगाडी बढाई रहेको निमार्ण कम्पनी कल्पवृक्ष एन्ड जलुकेनी जेबीका सञ्चालक सन्तोष ढुङ्गानाले बताए । उनका अनुसार माथिल्लो पार्किङ स्थलसम्म सडक नाली, पार्किङ स्थलमा प्रतीक्षालय, शौचालय, प्रशासनिक भवन, पार्किङ स्थल देखी गाथ सम्म रेलिङ र सि ल्याब सहितको बाटो, ठाउँ ठाउँमा खानेपानीको व्यवस्था, विश्राम स्थल निमार्ण हुने जनाइएको छ । करिब ७ करोडको लागतमा विभिन्न संरचनाहरू निमार्ण भइरहेको समेत जनाइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले २०७७ सालमा बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति गठन गरी कार्यान्वयनमा ल्याएको भएपनी प्रदेश सरकारले बडीकेदार धाम क्षेत्रको विकास तथा प्रवर्द्धनमा टेवा पुर्याउन नसकेको समेत स्थानीयले जनाएका छन् ।
बडीकेदार क्षेत्रको जति मात्रामा विकास हुनु पर्ने हो त्यति मात्रामा हुन नसकेको स्थानीय बासिन्दाहरू बताउँछन् । यस क्षेत्रको विकासको लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकारले सहयोग गर्नुपर्ने समेत जोड रहेको छ ।






