काठमाडौँ । उत्तर पुस्तिका हराएको प्रकरणमा त्रिभुवन विश्वविद्यालयले केही दिनमा निर्णय गर्ने भएको छ । उत्तर पुस्तिका हराएको विषयमा छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा त्रिविले केही दिनभित्रमा निर्णय गर्न लागेको हो ।
२०८० सालको वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (४२२) र शिक्षा शास्त्र संकाय तर्फको शिक्षाको आधार विषय (४१२) का उत्तर पुस्तिका हराएका थिए ।
उत्तर पुस्तिका हराएको विषयमा गत चैत १५ गते त्रिविले राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष तथा त्रिविका पूर्व रजिष्ट्रार प्रा डा. चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । समितिले त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकसहित विभिन्न व्यक्तिलाई कारबाही सिफारिस गरेको थियो ।
त्रिविका रजिष्ट्रार प्रा. डा. केदारप्रसाद रिजालले प्रतिवेदन अध्ययनको काम सकिएको र केही दिनमा निर्णयमा पुगिने बताए । प्रतिवेदनमा सिफारिस गरिए अनुसार नै कारबाही प्रक्रिया अगाडि बढाएको हो ।