काठमाडौँ । काठमाडौँ महानगरपालिकाको खर्च उत्साहजनक रूपमा वृद्धि भएको छ । महानगरले चालु आर्थिक वर्ष २०८०/८१ मा ५१ प्रतिशत बजेट खर्च गरेको छ । चालु आव असार तेस्रो सातासम्म कुल बजेट २४ अर्ब १९ करोड ८४ लाखको ५१.०४ प्रतिशत अर्थात् १२ अर्ब ३५ करोड २७ लाख खर्च गरेको हो ।
यो पछिल्लो पाँच वर्षको अवधिमा भएको खर्चको दर मध्ये सबैभन्दा उच्च हो । यसैगरी आर्थिक वर्ष ०८०/८१ मा भएको कुल खर्च रकम झण्डै आर्थिक वर्ष २०७६/७७ को सिङ्गो विनियोजन बराबर हो । यसअघि २०७५/७६ मा ५३ प्रतिशत खर्च भएको थियो । सो पश्चात् २०७६/७७ मा ५० प्रतिशत खर्च भएकोमा त्यसपछिका वर्षहरूमा खर्च गर्ने दर क्रमशः घट्दै गएको थियो ।
चालू आर्थिक वर्षमा २०८१ असार २४ सम्म करिब १० अर्ब आन्तरिक आय सङ्कलन भएको छ । जुन २०८०/८१ मा भएको खर्च सङ्कलित आन्तरिक आयको तुलनामा १२० प्रतिशत हो । यसमा न्यून देखिएको आन्तरिक आय बैङ्क मौज्दातबाट पूर्ति भएकोमा आगामी दिनमा राजस्व अभिवृद्धिमा ध्यान दिनुपर्ने देखिन्छ ।
पाँच वर्ष अघि २०७६/७७ मा ७७ प्रतिशत चालू खर्च भएकोमा हाल आर्थिक वर्ष २०८०/८१ मा यो दर ६४ प्रतिशतमा सीमित भएको छ । यस्तै आर्थिक वर्ष २०७७/७८ मा २१ प्रतिशत, २०७८/७९ मा २९ प्रतिशत र २०७९/८० मा २६ प्रतिशत रहेको पुँजीगत खर्चमा उत्साहजनक वृद्धि भई ४२ प्रतिशत कायम भएको छ । अर्कोतर्फ २०७७/७८ मा जम्मा २३ प्रतिशत वित्तीय खर्च भएकोमा हाल शतप्रतिशत वित्तीय खर्च भएको छ । यसले काठमाडौँ महानगरपालिकाको २०८०/८१ को खर्च बढ्नुमा पुँजीगत खर्च र वित्तीय खर्चको योगदान रहेको पुष्टि हुन्छ, जुन आर्थिक विकासका लागि महत्त्वपूर्ण छ ।
काठमाडौँ महानगरपालिकामा पुँजीगत खर्च वृद्धि र बेरुजु न्यूनीकरण हुनुमा महानगरपालिका नेतृत्वबाट निरन्तर मार्गदर्शन एवम् कार्य वातावरणमा सहजीकरण, समग्र कर्मचारीको खर्च गर्ने क्षमतामा तुलनात्मक रूपमा अभिवृद्धि, सामूहिक प्रयासले यो सम्भव भएको महानगरले जनाएको छ ।
खर्च र राजश्व सङ्कलन बढाउने र बेरुजु घटाउने रणनीति अनुसार महानगर अघि बढेको काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताए । ‘विशेष गरी पुँजीगत खर्च र राजश्व सङ्कलन बढाउने र बेरुजु घटाउने गरी अघि बढेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत परियारले भने ।
गत आर्थिक वर्षको बृहत् समीक्षासँगै यथार्थपरक बजेट तर्जुमा, वार्षिक कार्य योजना र अनुगमन योजना तर्जुमा र सोको प्रभावकारी कार्यान्वयनले महत्त्वपूर्ण भूमिका खेलेको छ । पहिलो प्राथमिकता प्राप्त योजनाको कार्यान्वयनमा विशेष जोड, नियमित अनुगमन, समीक्षा, मूल्याङ्कन गर्दै पहिचान भएका कमजोरीहरूलाई सुधार गर्दै प्राप्त सिकाइहरूलाई संस्थागत गर्दै बजेट तथा कार्यक्रम कार्यान्वयनमा केन्द्रित रहने महानगरको भनाई छ ।
पछिल्लो समय मेयर बालेन्द्र साह(बालेन)ले संस्थागत सुधारमा देखाएको सक्रियतालेसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेको महानगरले जनाएको छ ।
