काठमाडौँ । फेसबुकबाटै स्थगन भएको काठमाडौँ नगर सभाको १५औँ अधिवेशनले नीति तथा कार्यक्रम पारित गर्दा नगर सभा सदस्यहरूले मेयर बालेन्द्र साहलाई अरूको पनि सम्मान गर्न सुझाव दिएका छन् ।
मंगलबारको नगरसभा अधिवेशनमा मेयरले दिएको समयमा बोल्दै नगरसभा सदस्य शर्मिला परियारले नगरसभा स्थगन र सञ्चालन ‘फेसबुकबाटै गर्ने हो अबदेखि’ भनेर प्रश्न गरिन् । उनले सामाजिक सञ्जालबाटै नगरसभा चलाउन लागेको हो कि भनेर मेयरलाई प्रश्न गरेकी हुन् ।
वडा नम्बर ३ बाट निर्वाचित दलित महिला सदस्य परियारले मेयर शाहले सम्मानित नेताहरूलाई विनाप्रमाण सामाजिक सञ्जालबाट गालीगलौज गर्दा महानगरकै गरिमा कमजोर बनिरहेको बताइन् ।
उनले भनिन्, ‘विनाप्रमाण कसैलाई गालीगलौज गर्नुअघि म कुन हैसियतमा छु भन्ने पनि बुझ्नुपर्छ । प्रमुखज्यू, तपाईँले आफू राम्रो देखिनका लागि अरूलाई नराम्रो देखाउन पर्दैन । नगरसभाको गरिमा अरूलाई गालीगलौज गरेर, सामाजिक सञ्जालबाट आरोप लगाएर बढ्ने पनि होइन । सम्मानित नेताहरूलाई गाली गरेर तपाईँको हैसियत बढ्दैन ।’
पछिल्लो समय मेयर शाहले फेसबुकबाटै काँग्रेस र एमालेमाथि आरोपित गर्दै नगरसभा स्थगित गरेका थिए । उनले लगातार एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आरोप लगाइरहेका छन् ।