काठमाडौँ । गणित र विज्ञान विषयको विकास र विस्तारमा आधा शताब्दीभन्दा बढी सेवा गरेका १३ विद्वान्लाई सम्मान गरिएको छ ।
गणित विज्ञान ट्रष्टले आज आयोजना गरेको कार्यक्रममा गणित र विज्ञान विषयमा लामो समय अध्यापन गराएर सेवा निवृत्त भएका १३ विद्धानलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा प्रा. डा. सिद्धिप्रसाद कोइराला, बद्रिलक्ष्मी वैद्य, प्रा. डा. गङ्गा श्रेष्ठ, प्रा. डा. मुकुन्दप्रसाद गजुरेल, प्रा. डा. सन्तोषमान मास्के, प्रा. डा. प्रकाशरत्न शाक्य, हिरण्यलाल कर्माचार्य, कृष्णमणि जोशी प्रधान, रुद्रबहादुर प्रधान, यादवप्रसाद उपाध्याय कोइराला, कावेली जोशी, शिवनारायण प्रधान र तहलदास अधिकारी छन् ।
सम्मानित व्यक्तित्व ७५ वर्षभन्दा माथि उमेरको छन् । ट्रष्टले प्रत्येक दुई वर्षमा गणित विज्ञान विषयको विकास र विस्तारमा अतुलनीय योगदान दिने व्यक्तित्वलाई सम्मान तथा रथारोहण गराउँदै आएको छ । सम्मानित १३ जनालाई आजै कमलपोखरीदेखि राष्ट्रिय सभा गृहसम्म रथारोहणसमेत गराइएको थियो ।
यसैगरी ट्रष्टले गणित विज्ञान प्रतिभा पुरस्कार नेपाल गणित समाज, काउन्सिल फर म्याथम्याटिक्स एजुकेशन कास्की, प्रा. डा. सन्तोषमान मास्के, प्रा. डा. ज्योति उपाध्याय देवकोटा, डा. वेदप्रसाद ढकाल र मरणोपरान्त प्रा. डा. उर्मिला प्याकुरेललाई प्रदान गरिएको छ । सो पुरस्कार नगद रु. २५ हजारसहित सम्मानपत्र रहेको छ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्मानित तथा पुरस्कृत व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरे । कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले सरकारले गणित र विज्ञान विषयलाई ध्यान दिनुपर्ने बताए । “गणित र विज्ञान विषयको विकास भएमात्र देशको विकास हुन्छ”, उनले भने ।
त्रिभुवन विश्वविद्यालयका कुलपति प्रा. डा. केशरजङ्ग बरालले नेपालको गणित र विज्ञान क्षेत्रको विकासमा अतुलनीय योगदान दिने गुरुलाई सम्मान गर्नु खुशीको कुरा भएको बताए ।
कार्यक्रमका संयोजक प्रा. डा. हिराबहादुर महर्जनले विज्ञानका हरेक क्षेत्रको विकासमा गणितको प्रयोगले विशेष महत्त्व राखेको बताए । कार्यक्रममा ट्रष्टका पूर्वअध्यक्ष स्वर्गीय राममान श्रेष्ठको स्मृतिमा प्रकाशन गरिएको ‘राममान स्मृति ग्रन्थ’ विमोचन गरिएको थियो । उक्त ट्रष्टले यसअघि २४ जनालाई सम्मान गरिसकेको छ ।