काठमाडौँ । काठमाडौँ तराई मधेश द्रुतमार्ग अन्तर्गत मकवानपुरको लेनडाँडास्थित एउटा सुरुङ बिहीबार छिचोलिएको (ब्रेक थ्रु भएको) छ ।
मकवानपुरको बकैया र गढी गाउँपालिकामा पर्ने लेनडाँडामा रहेको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौँतर्फ आउने १ हजार ६१२ मिटर लामो सुरुङमार्ग बिहीबार छिचोलिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । योसँगै फास्ट ट्र्याकमा पर्ने तेस्रो सुरुङ पनि छिचोलिएको छ ।
सो सुरुङमार्ग छिचोल्ने कार्यक्रमको प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यमबाट निरीक्षण गरेका थिए । सो अवसरमा उनले द्रुतमार्गका अन्य सुरुङहरू पनि छिचोलिने क्रममा रहेको भन्दै सरकारले दिएको जिम्मेवारी सेनाले जिम्मेवारीपूर्वक निभाइरहेको बताए ।
यसअघि ४ जेठमा द्रुतमार्गको लेनडाँडामै रहेको काठमाडौँबाट निजगढतर्फ जाने १ हजार ६३३ मिटर लामो सुरुङ छिचोलिसकेको थियो ।
त्यस्तै ११ जेठमा धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौँतर्फ आउने १ हजार ६५३ मिटर लामो सुरुङ पनि छिचोलिइसकेको छ ।