काठमाडौँ । गैरकानूनी सम्पत्ति आर्जनका मुद्दामा विशेष अदालत काठमाडौँले गरेको फैसला चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दायर गरेको छ ।
विशेष अदालतबाट फैसला भएका गैरकानूनी सम्पत्ति आर्जनका दुई वटा मुद्दामा चित्त नबुझेपछि अख्तियारले आइतबार सर्वोच्चमा पुनरावेदन गरेको हो । गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी विशेष अदालतबाट फैसला भएका मध्ये राम कुमार श्रेष्ठ, सरस्वती श्रेष्ठ र सरोज श्रेष्ठको मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उक्त मुद्दा विशेष अदालतबाट २०८० असोज ८ मा फैसला भएको थियो ।
‘…आधार, कारण र मिसिल संलग्न प्रमाणहरूबाट आयोगले कायम गरेको प्रतिवादी राम कुमार श्रेष्ठको जाँच अवधिको व्यय १० करोड ९६ लाख ५९ हजार ५ सय ४८ रुपैयाँ ३३ पैसा र जाँच अवधिको वैधानिक आय ७ करोड १४ लाख ९१ हजार ८ सय ५३ रुपैयाँ ९१ पैसा देखिएकोले प्रतिवादीले ३ करोड ८१ लाख ६७ हजार ६ सय ९४ रुपैयाँ ४२ पैसा बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको पुष्टि भएको देखिन्छ,’ अख्तियारले भनेको छ, ‘त्रुटिपूर्ण फैसला बदर गरी प्रस्तुत पुनरावेदन जिकिर बमोजिम प्रतिवादी राम कुमार श्रेष्ठले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी अर्का प्रतिवादीहरू सरस्वती श्रेष्ठ र सरोज श्रेष्ठको नाममा उक्त गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति राखी भ्रष्टाचार गरेको ठहर गरी आयोगको मागदावी तथा पुनरावेदन जिकिर बमोजिम सजाय गरी सम्पत्ति जफत गरी पाउन मागदाबी लिइएको ।’
यसै गरी काशी प्रसाद गुप्ता, मिता गुप्ता, अञ्जु कुमारी महतो, उदित नारायण प्रसाद रौनियार, चन्देश्वर महतो, धिरज कुमार गुप्ता, प्रीति कुमारी गुप्ता, डा. रचना प्रसाद शाह, विकास प्रसाद गुप्ता, विनय कुमार सिंह, विभा रानी, संगिता साह रौनियार र सन्तोष कुमार गुप्ताको मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको प्रवक्ता घिमिरेले बताए । उक्त मुद्दा विशेषबाट २०८० पुस १७ मा फैसला भएको थियो ।
‘…आधार, कारण र मिसिल संलग्न प्रमाणहरूबाट आयोगले कायम गरेको प्रतिवादी काशी प्रसाद गुप्ताको जाँच अवधिको व्यय १४ करोड ८८ लाख ७८ हजार ४ सय ५ रुपैयाँ ७० पैसा र जाँच अवधिको वैधानिक आय १ करोड ८१ लाख ६७ हजार ७ सय ५२ रुपैयाँ ६६ पैसा देखिएकोले प्रतिवादीले १३ करोड ७ लाख १० हजार ६ सय ५३ रुपैयाँ ४ पैसा बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको पुष्टि भएको देखिन्छ,’ अख्तियारले भनेको छ, ‘सम्मानित विशेष अदालतबाट आंशिक वादी दाबी पुग्ने ठहर गरी भएको फैसला सो हदसम्म त्रुटिपूर्ण रहेकोले उक्त त्रुटिपूर्ण फैसला बदर गरी प्रस्तुत पुनरावेदन जिकिर बमोजिम प्रतिवादी काशी प्रसाद गुप्ताले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी अर्का प्रतिवादीहरूका नाममा उक्त गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति राखी भ्रष्टाचार गरेको ठहर गरी आयोगको मागदावी तथा पुनरावेदन जिकिर बमोजिम सजाय गरी सम्पत्ति जफत गरी पाउन मागदाबी लिइएको ।’
अख्तियारले उनीहरूले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको विषयमा विभिन्न आधारहरू प्रस्तुत गर्दै सर्वोच्चमा मुद्दा दायर गरेको हो ।