काठमाडौँ । संघीय संसद् सचिवालयका कर्मचारीहरू विभिन्न ११ बुँदे मागसहित आन्दोलनमा छन् ।
गत मङ्गलवारदेखि आन्दोलनमा उत्रिएका कर्मचारीहरूले माग सम्बोधन नभएपछि आइतबारदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् । संघीय संसद् सचिवालय कर्मचारी प्रशासन नियमावली, २०६५ को अनुसूची १२ मा परिमार्जन, अतिरिक्त समय काम लगाएबापत अतिरिक्त प्रोत्साहन भत्ताको व्यवस्था, कर्मचारी कल्याण कोषको स्थापना तथा सञ्चालन लगायतका ११ बुँदे मागसहित उनीहरू आन्दोलनमा छन् ।
संघीय संसद् सचिवालय कर्मचारी युनियनका अनुसार प्रथम चरणको विरोध कार्यक्रममा कालोपट्टि बाँधी कर्मचारीहरूले काम गरेका थिए भने दोस्रो चरणमा धर्नासहित कालोपट्टि बाँध्ने कार्यक्रम रहेको छ । साथै कार्यालय समय बाहेक अतिरिक्त समयमा काम नगर्ने कार्यक्रम रहेको कर्मचारी युनियनले जनाएको छ ।

विगत १७ वर्षदेखि सेवा सुविधा अपडेट नभएका कारण आन्दोलनमा उत्रन बाध्य भएको युनियनका अध्यक्ष गोविन्द प्रसाद बेल्बासेले बताए । ‘श्रेणीविहीन कर्मचारीहरूको घर जाँदा/अवकाश हुँदा खाइपाइ आएको सेवा सुविधा पनि घटेको छ,’ उनले भने, ‘अतिरिक्त समय काम गर्दा पनि कुनै पनि सुविधा हामीले ७५ सालपछि पाएका छैनौँ ।’ विश्व श्रम सङ्गठन अभिसन्धि, श्रम ऐन लगायतका कानुनले अतिरिक्त समय काम लगाए बापत अतिरिक्त प्रोत्साहन भत्ता दिनुपर्ने व्यवस्था गरेको छ ।
संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारीहरू बिहान १० बजेदेखि साँझ ५ बजे बाहेकको अतिरिक्त समयमा बिना प्रोत्साहन भत्ता खटिइरहनुपर्ने बाध्यता रहेको एक कर्मचारी बताउँछन् । उनका अनुसार सदन वा समितिको बैठक बसेको सांसदले एक हजार बैठक भत्ता र एक हजार यातायात भत्ता गरी दुई हजार अतिरिक्त भत्ताको सुविधा प्राप्त गर्ने तर, सदन र समिति बैठकको व्यवस्थापनमा खटिने कर्मचारीले अतिरिक्त समयमा समेत कुनै सेवा सुविधा पाउने गरेका छैनन् ।
यस्ता छन् कर्मचारीहरूका माग:
१. संघीय संसद् सचिवालय कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ लाई समयानुकूल परिमार्जन गर्नुपर्ने ।
२. संघीय संसद्का कामकारबाही तोकिएको कार्यालय समयभित्र मात्र सञ्चालन नहुने भएकाले सचिवालयमा कार्यरत कर्मचारीहरूले अतिरिक्त समयमा समेत काम गर्नुपर्ने अवस्था रहेको छ । नेपाल आइएलओ कन्भेन्सन १९३० को पक्ष राष्ट्र भएकाले उक्त कन्भेन्सनको नम्बर ३० को आर्टिकल ३ को व्यवस्था बमोजिम अतिरिक्त समय काम लगाए बापतको अतिरिक्त प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने ।
३. सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको मिति २०८० साउन १८ गतेको निर्णयअनुसार गठित समितिहरूले पेस गरेका प्रतिवेदनहरू आवश्यक परिमार्जनसहित यस आ.व भित्रै स्वीकृत गरी कार्यान्वयन गर्नुपर्ने ।
४. सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले नियमावलीमा संशोधन गरी सचिवालयमा स्थायी दरबन्दीमा कार्यरत रहेका वि.सं २०५९ देखि तलबमान कायम हुन नसकेका हलुका सवारी चालक तथा कार्यालय सहयोगीहरूको छैटौँ तहको तलबमान कायम गरिनु पर्ने । सो गर्न नसकेमा अवकाश हुनुभन्दा एक महिना अगावै हलुका सवारी चालकलाई हेभी सवारी चालक तथा कार्यालय सहयोगीहरूलाई राजपत्र अनङ्कित द्वितीय श्रेणीमा बढुवाको सुनिश्चितता गर्नुपर्ने ।
५. संघीय संसद्का पदाधिकारीहरू तथा सदस्यहरूको तलबमानमा मर्यादाक्रम अनुसार समयानुकूल संशोधन गरिनु पर्ने तथा समिति तथा उपसमिति बैठक सञ्चालन कार्यविधिलाई समयानुकूल बनाउनुपर्ने ।
६. संघीय संसद् सचिवालय सम्बन्धी ऐन २०६४ को दफा १३ मा उल्लिखित ‘संघीय संसद् विकास कोष’ सम्बन्धी व्यवस्था कार्यविधि बनाई तुरुन्त कार्यान्वयन गर्नु पर्ने ।
७. संघीय संसद् सचिवालय सम्बन्धी ऐनको दफा १०६ मा रहेको ‘कर्मचारी कल्याण कोष’ को तत्काल स्थापना र सञ्चालन गर्न समिति गठन गर्नुपर्ने ।
८. संघीय संसद् सचिवालय कर्मचारी प्रशासन नियमावली २०६५ को नियम ११२ को व्यवस्थालाई मापदण्ड बनाई स्पष्ट र व्यवहारिक सूचकहरूका आधारमा कार्यान्वयन गर्नुपर्ने ।
९. संघीय संसद् सचिवालयमा प्राविधिक समूहमा कार्यरत कर्मचारीहरूका लागि प्राविधिक ग्रेड, जोखिम भत्ता तथा विशेष बिमाको व्यवस्था गर्नुपर्ने ।
१०. संघीय संसद् सचिवालय कर्मचारी प्रशासन नियमावलीको नियम १३१ को उपनियम २ मा भएको बिमाको व्यवस्थालाई सम्पूर्ण कर्मचारीहरूका लागि एकरूपताको व्यवस्था गर्नुपर्ने ।
११. सचिवालयमा कार्यरत करारका कर्मचारीहरूलाई बजेट प्रोत्साहन तथा नेपाल सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने ।