काठमाडौँ । सहकारी विभागले सहकारीबाट लिएको ऋण समयमै भुक्तान गर्न ऋणीहरूलाई आग्रह गरेको छ । एक सूचना जारी गर्दै जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो सोही बमोजिम ऋणको सावाँ र ब्याज लगायतको रकम समयमै तिरेर जिम्मेवार सदस्यको दायित्व पूरा गर्न विभागले भनेको छ ।
जारी सूचनामा भनिएको छ, ‘सहकारी संस्थाहरूबाट ऋण लिएका ऋणी सदस्यहरूले तोकिएको समयभित्र ऋणको सावाँ तथा ब्याज चुक्ता नगर्दा केही संस्थाहरूमा तरलताको समस्या भई सदस्यहरूको बचत फिर्ता गर्न नसकेको गुनासो आइरहेको छ । सहकारी संस्थामा सदस्यहरूको बचत रकम नै कर्जाको रूपमा प्रवाह हुने र ऋणी सदस्यहरूले समयमा नै आफूले भुक्तान गर्नुपर्ने सावाँ तथा ब्याज चुक्ता नगर्दा सदस्यहरूको बचत फिर्तामा नकारात्मक असर परेको छ ।’
साथै प्रचलित कानुनी व्यवस्थाको पूर्ण परिपालना गरी सहकारी संस्थाहरूलाई आफ्ना सदस्यहरूको बचत समयमा फिर्ता गर्न र ऋण तथा बाँकी बक्यौता असुली गर्ने तर्फ थप क्रियाशील हुन पनि विभागले ध्यानाकर्षण गराएको छ ।