काठमाडौँ उपत्यकामा खानेपानीको मागभन्दा आपूर्तिको मात्रा अत्यन्त कम रहेको सन्दर्भमा बढ्दो पानीको मागलाई थेग्न सक्ने एक मात्र विकल्पको रूपमा मेलम्ची खानेपानी आयोजनाको अवधारणा शुरु भएको हो । वि.सं. २०४७ सालतिर नेपालका तत्कालीन प्रधानमन्त्री श्री कृष्ण प्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौँबासीको उपयोगका लागि आपूर्ति गरिने प्रतिबद्धता सार्वजनिक गर्नु भएको थियो । मेलम्ची खानेपानी आयोजना काठमाडौँ उपत्यकामा शहरी क्षेत्रको खानेपानीको माग पूरा गर्नको लागि क्रमिक रूपमा क्षमता बढाउँदै लैजान सकिने एक बृहत् अन्तर-जलाधार परियोजना हो । यस परियोजनाले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाविस अन्तर्गत मेलम्ची नदीको रिबर्मा भन्ने ठाउँनिर मुहान (हेडवर्कस्) निर्माण गरी रिवर्मादेखि सुन्दरी जलसम्म करिब २६ किलोमिटर लामो सुरुङका माध्यमबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी काठमाडौँ उपत्यकाभित्र ल्याउने उद्देश्य लिएको छ ।
यसैगरी क्रमशः दोस्रो चरणमा याङ्ग्री र लार्के नदीबाट दैनिक १७÷१७ करोड लिटर गरी जम्मा ५१ करोड लिटर पानी काठमाडौँमा ल्याउने दीर्घकालीन लक्ष्यका साथ यो आयोजना सञ्चालनमा रहेको छ । आयोजनाको मुहान काठमाडौँ उपत्यकाबाट उत्तर पूर्वतर्फ र दूरीको हिसाबले करिब २६ कि.मि. पर्ने सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गा.वि.स.मा पर्ने उक्त आयोजना काठमाडौँ उपत्यकाको खानेपानीको अभावलाई दीर्घकालीन रूपमा समाधान गर्न स्वच्छ खाने पानी आपूर्तिको व्यवस्था गर्ने मुख्य उद्देश्य लिएर सुरुवात गरिएको थियो ।
हाल विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रचार प्रसार भएका समाचार अनुसार मनसुन सुरुआत भएसँगै यही असारदेखि पुनः मेलम्चीको पानी आपूर्ति बन्द हुने तथा पुन निर्माण अन्तरगत मेलम्ची खानेपानी आयोजनाका हालको हेडवर्क्स करिब एक किलोमिटर माथि सिन्धुपाल्चोकको हेलम्बुस्थित सर्कथलीमा नयाँ संरचना बनाई स्थानान्तरण गर्नुपर्ने र सोको लागि करिब चार अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान छ । रकम व्यवस्थापनका लागि नेपाल सरकारको अनुरोधमा एसियाली विकास बैंक (एडिबी) ले हेडवर्क्स निर्माण तथा स्थानान्तरणका लागि दुई अर्बभन्दा बढी अनुदान दिने र बाँकी रकम भने एडीबीले ऋण उपलब्ध गराउने सहमति भएको छ । नयाँ हेडवर्क्स बनाउन चार÷पाँच वर्ष लाग्ने भएपछि वर्षात्मा पनि राजधानीवासीले मेलम्चीको पानी पाउने आशामा पुनः तुसारापात भएको छ ।
वर्षात्मा आउने बाढीका कारण मेलम्ची खोलाको मुख्य स्रोत बन्द गर्नुपर्ने भएपछि काठमाण्डौँबासी पुनः चिन्तित भएका छन् । करिब चार वर्ष अगाडि परीक्षणको क्रममा सुरुङमा पानी पठाएर परीक्षण गर्दै गर्दा ढोकाको एक भाग पूरै खुलेपछि जनधनको क्षति हुनुका साथै पूरा हुनै लागेको भनिएको मेलम्ची खानेपानी आयोजना माथि नै प्रश्न चिन्ह लागेको थियो । मेलम्ची खानेपानी आयोजनाको डिजाइन र गुणस्तरमाथि प्रश्नहरू तेर्सिएका थिए । विगतमा बाढीले आयोजनमा ठूलो क्षति पु¥याएको थियो । मेलम्ची आयोजना क्षेत्रको पुल, सडक, हेडवर्क्सलगायत संरचना पुनर्निर्माणका लागि करिब २ अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो भने मर्मत गर्न करिब एक वर्ष लाग्ने अनुमान गरिएको थियो ।
सिन्धुपाल्चोकको भ्रेमाथाङ क्षेत्रको पहिरोले मेलम्ची आयोजनाको भविष्य अनिश्चित बन्दै गएको विज्ञहरूको प्रतिक्रियापछि खानेपानी मन्त्रालयले काठमाडौँ उपत्यकामा पानी आपूर्ति गर्ने मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन भौगर्भिक अवस्था अध्ययन गरी प्रतिवेदन पेस गर्न एसियाली विकास बैंक (एडिबी) लाई पत्राचार गरेको र विज्ञहरूले भ्रेमाथाङमा वर्षौँ पहिला आएर बसेको थेग्रिनी बग्न थालेकाले मेलम्ची खानेपानी आयोजना सङ्कटमा परेको बताएका थिए ।
बेलायती अन्तर्राष्ट्रिय संस्था बिन्नी एन्ड पाटनर्सले सिन्धुपाल्चोकको मेलम्ची खोलालाई काठमाडौँ उपत्यकाको पानीको स्रोतका रूपमा पहिचान गरेको ३४ वर्ष बितेको छ । पानी राजधानी लैजाने योजनासहित विकास समिति गठन गरेर आयोजनाको समग्र भौतिक निर्माणको काम सुरु भएको पनि २२ वर्ष भन्दा बढी भैसकेको छ । सुरुङ बनाउन थालेको मात्र १४ वर्ष भन्दा बढी भयो । उक्त आयोजनाका लागि सुरुङ, हेडवर्क्स, प्रवेश मार्ग, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, उपत्यकाको पाइपलाइन सहितको संरचना निर्माण गरी करिब ६० अर्बभन्दा बढी खर्च भइसकेको प्रस्तुत आयोजनाबाट निर्माण सुरु भएको २२ वर्ष भैसकेको उक्त अयोजनाले काठमाण्डौँवासीलाई पानी वितरणसमेत गरेर देखाएको आशामाथि पुनः त्रास र चिन्ता देखिएको छ ।
राष्ट्रिय गौरवको यति ठूलो महत्त्व र राज्यको पुँजी लगानी भएको आयोजना निर्माणको क्रममा प्राविधिक रूपमा जति गम्भीर हुनुपर्ने हो त्यति गम्भीर र संवेदनशील भइएन कि भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । मुलुकले दातृ निकायबाट ऋण प्राप्त गरी यत्रो ठूलो लगानीमा निर्माण भएको आयोजनाका डिजाइनदेखि पूर्वाधार निर्माणमासमेत प्राविधिक त्रृटिहरु रहेको अनुमान गर्न सकिन्छ । गत साल परीक्षणको क्रममा भएको जनधनको क्षतिसहितको दुर्घटना, मेलम्ची नदिमा बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गरी त्यसको सम्भावित क्षतिको पूर्वानुमान गरी रोकथामका व्यवस्थाबारे नजरअन्दाज गरिनु यसका उदाहरणहरू हुन् । जसले गर्दा आयोजनाको भविष्य समेत सुनिश्चित देखिएन ।
अहिले आएर हेडवर्क्सको स्थानान्तरले झनै गम्भीर प्रश्न खडा गरेको छ । यस आयोजनमा सम्भाव्यता अध्ययन तथा डीपीआरमा नै प्राविधिकहरूको गम्भीर त्रुटि रहेको र प्राविधिक पक्ष साह्रै कमजोर रहेका अनुमान लगाउन सकिन्छ । त्यसैले नागरिकका मनमा मेलम्ची आयोजनाको दिगोपनामाथि चिन्ता थपिएको छ । तसर्थ, उच्च प्राथमिकताका साथ अविलम्ब आवश्यक समन्वय गरी स्थानान्तरणको लागि पहिचान गरिएको स्थानमा हेडवर्क्सका संरचनाहरू निर्माण तथा अन्य क्षति भएको संरचनाहरू मर्मत गर्ने र भविष्यमा आउन सक्ने सम्भावित प्राकृतिक प्रकोपबाट हुन सक्ने समस्यालाई समेत दीर्घकालीन समाधानसहितको स्थायी र दिगो संरचनाहरूको निर्माण गरी स्थानीयहरूको चिन्तालाई आश्वस्त पार्नुका साथै काठमाण्डौँवासीलाई नियमितरुपमा पानी आपूर्तिको प्रत्याभूति दिनु राज्यको दायित्व भएकोले सम्बन्धित निकायहरू गम्भीर र संवेदनशील भई दिगो समाधानमा लाग्नु आवश्यक छ ।