काठमाडौँ । इञ्जिनियर सरोज भट्टराईलाई विशेष अदालतले ६ वर्षको कैद सजाय सुनाएको छ । घुस बापतको पैसा जग्गा बेच्नेलाई बुझाउन लगाएर आमाको नाममा जग्गा किनेका भट्टराईलाई सजाय सुनाएको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले कोषका योजना प्रमुख समेत रहेका इञ्जिनियर भट्टराईलाई ६ वर्ष कैद सजाय सुनाएको हो । विशेष अदालतले उनीबाट ८० लाख बिगो असुल्नुपर्ने फैसला गर्दै त्यति नै रकम जरिवाना गर्नुपर्ने ठहर गरेको छ ।
घुसबापतको रकम ठेकेदारबाट तिराएर जग्गा लिएको पुष्टि भएको भन्दै अख्तियारले इञ्जिनियर सरोज र उनकी आमा विरुद्ध मुद्दा दायर गरेको थियो ।
अख्तियारले आमालाई समेत मतियारको रूपमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले बिगो जफत हुने भन्दै इञ्जिनियर सरोज भट्टराईलाई मात्रै कैद सजाय तोकेको हो ।