काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयकलाई प्राथमिकता दिन प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई आग्रह गरेकी छन् ।
समितिका सभापतिलाई पत्राचार गर्दै विद्यालय शिक्षा विधेयकलाई पहिलो प्राथमिकता दिई छलफल अगाडि बढाइदिन उनले अनुरोध गरेकी हुन् ।
विधेयक समितिमा विचराधिन छ । उक्त विधेयकले विद्यालय शिक्षा, पाठ्यक्रम, परीक्षासहित मुलुकको शिक्षा प्रणालीलाई अझ व्यवस्थित, प्रभावकारी, गुणस्तरीय बनाउने विषयसँग सम्बन्धित रहेको प्राथमिकता कायम गर्नुपर्ने शिक्षामन्त्री श्रेष्ठले औँल्याएकी छन् ।
अभिभावक, शिक्षक, कर्मचारी विद्यार्थी तथा स्थानीय तहसहित धेरै सरोकारवालासँग विधेयक सम्बन्धित रहेकाले चाँडो टुङ्गो लगाइदिनु हुन अनुरोध गरिएको छ । गत भदौ २७ गते उक्त विधेयक प्रतिनिधि सभामा दर्ता भएको थियो । संविधानले व्यवस्था गरेको अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयन, निजी विद्यालयको गुठीकरण गर्दै गैरनाफामूलक बनाउने प्रावधान, माध्यमिक तहसम्म स्थानीय तहको एकल अधिकार र शिक्षक व्यवस्थापनका पेचिला मुद्दा छन् ।