काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले रोजगारदाता र श्रमिकको बिचको खाडल पुर्न श्रमाधान रोजगार मेलाको आयोजना गरिएको बताएका छन्।
बुधबार लुम्बिनी प्रदेशको बुटवलमा आयोजित श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री अर्यालले रोजगारदाता र श्रमिकलाई एकै स्थानमा भेट गराउन श्रम मन्त्रालयले सातै प्रदेशमा श्रमाधान रोजगार मेलाको आयोजना गरेको बताएका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय, बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघ (सिएनआई) को संयुक्त रूपमा लुम्बिनी प्रदेशमा आजदेखि मेलाको सुरुवात गरिएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दे मन्त्री अर्यालले रोजगारदाताले दक्ष श्रमिक नपाएर विदेशबाट ल्याउनुपर्ने र श्रम बजारमा आएका युवाले रोजगारी नपाएर विदेश जाने अवस्थाको अन्त्य गर्न आवश्यक भएको बताएका छन् । यस खालको समस्या समाधानमा यो मेलालाई भरपूर्ण प्रयोग गर्न पनि उनले आग्रह गरेका छन् ।