काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक स्थिरताबिना कसरी मुलुकको विकास हुन्छ भन्दै प्रश्न गरेका छन् ।
उनले नेपालको राजनीतिक इतिहासमा २००७ देखि २०८० सालसम्म कुनै पनि सरकार पाँच वर्षसम्म चल्न नसकेको बताए ।
जसपा नेपाल जिल्ला समिति रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन् ।
उनले भने, ‘एउटा सरकार आउँछ, केही योजना बनाउँछ, त्यो योजना कार्यान्वयन हुन अघि जान्छ । फेरी अर्को सरकार आउँछ र जान्छ अनि विकास कसरी हुन्छ ? सुशासन कसरी हुन्छ ?
उनले राजनीतिक अस्थिरताले मुलुकमा भ्रष्टाचार र कमिशनतन्त्र बढ्ने बताए । उनले राजनीतिक अस्थिरताले विकासको गति रोकिने बताए ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवले पार्टी फुट्यो भनेर व्यर्थमा चिन्ता नगर्न पार्टीका नेता कार्यकर्ताहरूलाई आग्रह गरे । उनले भने, ‘जो गयो, त्यो आफ्नो थिएन, जो आफ्नो हो, त्यो पार्टीको साथमा छ । त्यसैले पार्टी छोडेर गएकाप्रति धेरै चिन्ता नगरौँ । जुन देशमा राजनीतिक स्थिरता हुँदैन त्यहाँ पार्टीको स्थिरता पनि हुँदैन ।’