काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँलाई महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन पेश गरिएको छ । नायव महालेखापरीक्षक पशुपति काफ्ले र निर्देशक कृष्ण खनालले प्रदेश प्रमुख मियाँलाई आर्थिक वर्ष २०७९/८०को प्रतिवेदन पेस गरेका हुन् ।
उक्त प्रतिवेदनमा ३९ अर्ब ४३ करोड ९८ हजार ९९ को लेखापरीक्षण गर्दा फर्स्यौट गर्नु पर्ने रकम ३७ करोड ६३ लाख ९१ हजार रहेको उल्लेख गरिएको छ । त्यसमा १५ प्रतिशत अर्थात् ५ करोड ७३ लाख ६३ हजार रकम असुल गर्नु पर्ने रहेको छ छ । ८ करोड ९६ लाख ८८ हजार रकमको प्रमाण कागज पेश नभएको देखिएको छ । प्रतिवेदनले ७ करोड ४३ लाख २५ हजार अनियमित भएको ठहर गरेको छ । त्यस्तै १७ करोड ४० लाख ८ हजार नियमित गर्नु पर्ने रकम उल्लेख गरिएको छ भने, ९९ लाख ९५हजार शोधभर्ना नलिएको रकम उल्लेख गरिएको छ ।
प्रदेश मन्त्रालय तथा निकायमा गरी १४३ वटामा गरिएको लेखापरीक्षणमा २७ करोड ६६लाख ५१हजार बेरुजु देखिएको छ भने,समिति तथा अन्य संस्था गरी १८ वटामा गरिएको लेखापरीक्षणमा ९ करोड ९७ लाख ४० हजार बेरुजु देखिएको छ ।
प्रदेश मन्त्रालय तथा निकायमा विगतको हाल सम्मको बेरुजु १ अर्ब ९४ करोड ५४लाख १३हजार रहेको थियो । ८ करोड ३९ लाख ८९हजार फर्स्यौट तथा परीक्षण गर्दा विगतका बर्सहरूको कुल बेरुजु १ अर्ब ८६ करोड १४ लाख २४ हजार बाँकी रहेको छ । त्यसमा उक्त आर्थिक वर्षमा २७ करोड ६६लाख ५१हजार बेरुजु थप भएको छ । अहिले प्रदेश मन्त्रालय तथा निकायमा २ अर्ब १३ करोड ८० लाख ७५ हजार बेरुजु बाकी रहेको छ ।