काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बालबालिकालाई कुपोषणबाट जोगाउन गर्भावस्थादेखि नै विशेष ख्याल गर्नुपर्ने बताएकी छन् ।
बालबालिकाको क्षेत्रमा कार्यरत वर्ल्ड भिजन इन्टरनेशनल र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को सहकार्यमा विहीबारबाट सुरु भएको बाल कुपोषण र भोकमरीविरुद्धको अभियान इनफ घोषणा कार्यक्रममा मन्त्री चौधरीले कुपोषणको समस्या विकासको बाधक भएकाले यसविरुद्ध घरपरिवार, समाज र राज्यले नै हातेमालो गर्नुपर्ने बताइन् ।
मन्त्री चौधरीलाई बालबालिकाले कुपोषण अन्त्यका लागि सरकारले चाल्नुपर्ने कदमका बारेमा सात बुँदे ध्यानाकर्षणपत्र बुझाएका थिए । ध्यानाकर्षणपत्र कार्यान्वयनका लागि मन्त्रालयगत रूपमा छलफल र समन्वय गर्ने मन्त्री चौधरीले प्रतिबद्धता जनाइन् ।
बालबालिकामा हुने कुपोषण अन्त्यका लागि वर्ल्डभिजन इन्टरनेशनलले गरेका कामको प्रभाव र नतिजा सकारात्मक भएको उल्लेख गर्दै मन्त्री चौधरीले तीनै तहका सरकार र सरोकारवाला निकाय कुपोषण अन्त्यका लागि एक जुट हुने हो भने अझ धेरै राम्रो नतिजा निकाल्न सकिनेमा जोड दिइन् ।