काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा नाराबाजी गरिरहेका काँग्रेसप्रति आक्रोश पोखेका छन् ।
विपक्षी दलहरूको वेल घेराउ र नाराबाजीका बीच प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए । नाराबाजीकै बीच एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रस्तावको समर्थनमा बोले ।
त्यसपछि जवाफ दिन रोष्ट्रममा उपस्थित भएका प्रधानमन्त्रीले वेल घेराउ गरिहरेका काँग्रेस सांसदहरूप्रति आक्रोश पोखे । उनले सम्बोधनको सुरुमै भने, ‘म अवरोधमा रहेका माननीय सदस्यहरूलाई भन्न चाहन्छु, तपाईँहरूले आज बहुत गलत गर्नुभयो ।’
विगतमा पटक पटक काँग्रेसलाई साथ दिएको र यो पटक पनि संवादमा सहमतिमा ल्याउन पहल गरेको आफूलाई संविधानअनुसार विश्वासको मत लिन समेत नदिएको भन्दै उनले भने, तपाईँहरूले इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । म गहिरो दुःख व्यक्त गर्न चाहन्छु ।’
यो गतिविधि काँग्रेसका लागि चर्को मूल्य पर्ने भन्दै उनले अगाडि भने, ‘आजको तपाईँहरूको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुनेछ कलङ्कका रूपमा ।’